व्यवसायीको हडताल ः सुरक्षामा समर्थन
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०६ । नवलपुर–मलंगवा सडकखण्ड मर्मतका लागि यातायात सेवा नै बन्द गरी व्यवसायी बुधबारदेखि अनिश्चित हडतालमा उत्रिएका छन् ।
सडक पूर्ण रुपमा जिर्ण भएपनि सम्बन्धित निकायले मर्मतका लागि कुनै वास्ता नगरेपछि यातायात व्यवसायी हड्तालमा उत्रिएका हुन् । सडकमा यातायत नै चलाउन नहुनेगरी भएको खाल्डा खुल्डी मर्मत नभएसम्मका लागि नवलपुर–मलंगवा २५ किलोमिटर सडकखण्डमा कुनैपनि भाडाका सवारी साधन नचलाउने निर्णय गरिएको सर्लाही यातायात बस व्यवसायी संघका अध्यक्ष शिवशंकर रायले बताए ।
राय भन्छन् –‘नवलपुरदेखि मलंगवासम्ममा भएको २५ किलोमिटरको दुरीमा यात्रा गर्दा आधा घण्टा मात्र समयमा लाग्नुपर्ने हो तर जिर्ण सडकका कारण दुई घण्टासम्म सवारी चलाउनुपर्छ तर त्यसमा पनि दुर्घटनाको जोखिम हुन्छ ।’
कात्तिक–२२ सम्ममा सो सडक पीच गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने शर्तका साथ भारतीय निर्माण कम्पनी भिस्वा कन्स्ट्रक्सनले दुई वर्षिय सम्झौता गरेको भएपनि समय सकिन १५ दिनमात्र बाँकी रहदा पीच हुन त परै जाओस् ठेकेदार कम्पनीको अहिले अत्तो पत्तो छैन ।
सडक जिर्ण हुँदा यातायात व्यवसायी र सर्वसाधारण यात्रुको कठिनाई एवं धुलो उडेर आसपासका समाज तथा बस्तीहरुमात्र प्रभावित नभई नजिकिदो संविधान सभाको निर्वाचनको सुरक्षार्थ सुरक्षा निकायको समेत टाउको दुखाइको विषय बनेको थियो । जिर्ण सडकले प्रहरी भनेको समयमा कहिपनि पुग्न नसक्ने जनाउँदै गत असोज १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत सडक मर्मत गर्न गृहमन्त्रालयमा पहल गर्ने निर्णय गरेको थियो ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले निर्वाचन अघि नै जिर्ण सडक मर्मतको माग गरिएको बताए । भारतीय निर्माण कम्पनीले सडक बनाउने ठेक्का लिएपछि सो सडकमा केही गर्न नमिल्ने भएको तर ठेकेदारले समयमै कार्य सम्पन्न गर्न नसक्दा समस्या आएको घिमिरेले जानकारी दिए ।
प्रजिअ घिमिरे अगाडी भन्छन् –‘हामीले नेपाल स्थित भारतीय राजदुतावास मार्फत भारत सरकारलाई तत्काल मर्मतका लागि बजेट माग गरेका छौं सो कुरामा भारतीय राजदुको अभिव्यक्ति सकारात्मक रहेको छ । ठेकेदारले सम्झौता अनुसार कार्य नगरेकाले मर्मतका लागि भएपनि बजेट माग गरिएको हो ।’
सुरक्षा निकायले सडक मर्मतको माग गरिरहेको अवस्थामा यातायात व्यवसायीले गरेको हडतालले उक्त कार्यका लागि दवाव त परेको छ तर नवलपुर–मलंगवा सडक खण्डमा भाडाका सवारी साधन नचल्दा सर्वसाधारण भने तत्कालका लागि मर्कामा परेका छन् । बुधबार निजी सवारी मोटरसाईकल र प्राइभेट गाडी मात्र चलेकाले आफ्ना सवारी नहुनेहरु पैदल यात्रा गरी गन्तव्यसम्म पुग्न बाध्य भएका थिए ।
No comments:
Post a Comment