परवानीपुरमा झाडापखालाको प्रकोप ः दुई दर्जन विरामी
सर्लाही समाचारदाता
परवानीपुर, कात्तिक १० । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित परवानीपुर गाविस–१, सतभैया गाउँमा शनिबारदेखि झाखा पखालाको प्रकोप फैलिएको छ । निरन्तर पखाला हुने, पेट दुख्ने, ज्वरो आउने, वान्ता हुने लगायतका लक्षण सहित उक्त गाउँका दुई दर्जन सर्वसाधारण विरामी भएका छन् । आईतबार साँझसम्म प्रकोपको कारण खुल्न सकेको छैन । बेलैमा झाडापखालाको प्रकोप नियन्त्रणमा नआए महामारीको रुप लिने सक्ने भयले स्थानिय बासिन्दा त्रसित छन् । ‘‘ल्याब परिक्षणका क्रममा ‘ब्याक्टेरिया इन्फेक्सन’ देखिएपनि स्पष्ट कारणहरु अझै खुल्न सकेको छैन ।’’ जिल्ला जन स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख सचिदानन्द देवले आइतबार सर्लाही दैनिकसँग भने–‘‘रोग नियन्त्रण महाशाखा काठमाण्डौमा जानकारी गराईसकेका छौं, उताबाट माग भएपछि विरामीको दिशा परिक्षण गर्न पठाउनेछौं ।’’
शनिबार विहानदेखि एक्कासी टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने क्रम सुरु भएको थियो । दुषित पानीको कारण झाडापखाला रोग फैलिएको अनुमान गरिएपनि आधिकारिक रुपमा त्यसको पुष्टि हुन सकेको छैन । प्रकोप बढेपछि शनिबार विहानदेखि स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर समेत उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख देवले बताए । ‘‘गाउँमै पनि औषधी सहित टोली खटिरहेको छ ।’’ देवले भने–‘‘लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्र ल्याईएका विरामीको पनि उपचार भैरहेको छ ।’’
लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन १७ जना आएको र आईतबार राती पनि ५ जना विरामी उपचाररत रहेका हेल्थ असिस्टेण्ट रोशन चौधरीले बताए । चौधरीका अनुसार परवानीपुर गाविस–१, सतभैयाका १७ वर्षिया होमकुमारी बम्जन, २४ वर्षिया चमेली माया, १८ वर्षिय कृष्णबहादुर दर्लामी, २५ वर्षिय टलकबहादुर राना र २३ वर्षिय भिमबहादुर दर्लामी अझैपनि लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रमा परवानीपुर..........
उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अन्य विरामी भने आइतबार दिउँसो घर फर्कीएका छन् । घर फर्किएका विरामीहरुलाई आइतबार रातीबाट पूनः टाउको दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने समस्या देखिएको खबर आएको चौधरीले बताए । चौधरीका अनुसार परवानीपुर उपस्वास्थ्य चौकीका प्रमुख जयचन्द्र राय र लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रका अहेब दिनेश कुमार सिंहको टोलीले गाउँमै रहेर केही विरामीको उपचार गरिरहेको छ । ‘‘पुरै गाउँमा एकै पटक झाडा पखाला फैलियो ।’’ स्थानीय दिलवहादुर रेग्मीले भने–‘‘टाउको दुख्ने, बान्ता हुने र पखाला लाग्ने भयो ।’’ एक्कासी धेरै बिरामी परेपछि चुनाव प्रचारप्रसारमा पुगेका उम्मेद्वारका गाडीमा उनीहरुलाई लालबन्दी स्थित अस्पताल ल्याईएको थियो । ‘‘चुनाव प्रचारका गाडी नभएको भए के हुन्थ्यो भन्न सकिन्न ।’’ रेग्मीले भने–‘‘धेरै जना बिरामी भएकाले आत्तिएर हामी त सोच्नै नसक्ने भएका थियौं ।’’
गाउँलेले प्रयोग गर्ने साझा इनारको पानी दुषित भएर झाडा पखाला फैलिएको अनुमान छ । बिरामी भई अस्पतालमा उपचारार्थ भर्ना भएका टलकबहादुर रानाले सधैं झैं खानेकुरा खाएकाले पानीकै कारण पखाला फैलिएको हुन सक्ने अनुमान गरे । ‘‘गाउँमा रहेको इनारको पानी खाने तल्लो टोलका मात्र सवैजसो बिरामी प¥यौं ।’’ रानाले भने–‘‘धाराको पानी खाने माथ्लो टोलका कोहीपनि विरामी भएका छैनन् ।’’
झाडा पखाला फैलिएको थाहा हुनासाथ स्वास्थ्यकर्मीको टोली गाउँमै खटिएकाले थप विरामी उपचारको लागि नआएको लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । सतभैयाको माथिल्लो टोलमा धाराको पानी प्रयोग हुने भएकाले बिरामी भएका छैनन् । इनार प्रयोग गर्नेमात्र बिरामी भएकाले पानी दुषित भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
विरामीहरुको उपचार प्रकृया चलिरहेकाले प्रकोप पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । ‘‘झाडापखालाको प्रकोप थप फैलन नपाओस् भनेर स्वास्थ्यकर्मीको टोली गाउँमै खटाईएको छ ।’’ जनस्वास्थ्य प्रमुख देवले भने–‘‘माथिल्लो निकायमा पनि निरन्तर सम्पर्कमा छौं ।’’ उक्त इनारको पानी प्रयोग गर्ने सबैजना विरामी नभएकाले दुषित पानी नै भन्ने ठोकुवा गर्न नसकिएको जनस्वास्थ्य प्रमुख देवले बताए ।
No comments:
Post a Comment