Friday, October 25, 2013

बन्दबाट बिहिबार पनि यातायात ठप्प

बन्दबाट बिहिबार पनि यातायात ठप्प
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । सडकखण्ड मर्मतको माग राखेर यातायात व्यवसायी हड्तालमा उत्रिएका कारण दोस्रो दिन बिहिबार पनि नवलपुर–मलंगवा सडकखण्डमा सार्वजनिक सवारी साधन चलेनन् ।
सडक पूर्ण रुपमा जिर्ण भएपनि सम्बन्धित निकायले मर्मतका लागि कुनै वास्ता नगरेपछि यातायात व्यवसायी अनिश्चित हड्तालमा उत्रिएका हुन् । सडकमा यातायत नै चलाउन नहुनेगरी भएको खाल्डा खुल्डी मर्मत नभएसम्मका लागि नवलपुर–मलंगवा २५ किलोमिटर सडकखण्डमा कुनैपनि भाडाका सवारी साधन नचलाउने निर्णय गरिएको सर्लाही यातायात बस व्यवसायी संघका अध्यक्ष शिवशंकर रायले बताए । नवलपुरदेखि मलंगवासम्मको २५ किलोमिटर दुरीमा आधा घण्टा मात्र समय लाग्नुपर्ने भएपनि जिर्ण सडकका कारण दुई घण्टासम्म लाग्ने गरेको र सवारी साधनमा टुट्फुट् एवं दुर्घटना समेत बढेका कारण अनिश्चितकालिन हड्तालमा उत्रनु परेको अध्यक्ष रायले बताए ।
३० महिनासम्ममा सो सडक पीच गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने शर्तका साथ भारतीय निर्माण कम्पनी भिस्वा कन्स्ट्रक्सनले सम्झौता गरेको भएपनि समय सकिन १७ दिनमात्र बाँकी रहदा सडकमा पीच त परै जाओस् कतै–कतै खोतल्ने र नाँपजाप गर्ने काममात्र भएको यातायात व्यवसायीले गुनासो गरेका छन् । सडक जिर्ण हुँदा यातायात व्यवसायी र सर्वसाधारण यात्रुको कठिनाई एवं धुलो उडेर आसपासका बस्तीहरु समेत प्रभावित भएकाले थप कठिनाई भोग्नु परिरहेको यातयात व्यवसायीले बताए ।
यातायात व्यवसायीको हड्तालका कारण पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट अत्यावश्यक काम परेर सदरमुकाम मलंगवा जानुपर्ने सेवाग्राहीहरु समस्यामा परेका थिए भने सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले पनि कठिनाई भोग्नु परेको छ । बुधबारदेखि सुरु भएको यातायात व्यवसायीको हड्तालका कारण नवलपुर–मलंगवा सडकखण्डमा निजी सवारी साधनमात्र सुचारु थिए । मलंगवा जाने सार्वजनिक बस तथा सवारी साधनहरु नवलपुरमै थन्केर बसेका छन् भने नवलपुरतर्फ आउने सार्वजनिक सवारी साधन मलंगवामै थुप्रेर बसेका छन् ।
जिर्ण सडकका कारण आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समेत गम्भिर कठिनाई परेको जनाउँदै गत असोज १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत सडक मर्मतका लागि पहल गर्न गृहमन्त्रालय समक्ष माग गरेको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले निर्वाचन अघि नै जिर्ण सडक मर्मतको माग गरिएको बताए । दुईदेशिय सम्झौता अनुसार भारतीय निर्माण कम्पनीले सडक बनाउने ठेक्का लिएपछि सो सडकमा जिल्ला स्तरका सम्बन्धित सरकारी निकायले पनि काम गर्न नमिल्ने भएको र ठेकेदारले समयमै कार्य सम्पन्न गर्न नसक्दा समस्या आएको घिमिरेले जानकारी दिए ।

No comments:

Post a Comment