जिल्लाको सुरक्षामा कडाई
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ५ । प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले आगामी संविधान सभा निर्वाचनलाई ध्यानमा राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् ।
निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा नेपाली सेना सहित ३ हजार भन्दाबढी सुरक्षाकर्मीहरु परिचालन गरिएको उल्लेख गर्दै प्रजिअ घिमिरेले निर्वाचन सम्बन्धि क्रियाकलाप गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । ‘‘नेपाली सेना सहित ३ हजार भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।’’ उनले सर्लाही दैनिकसँग भने–‘‘त्यसैले राजनैतिक दल लगायत सबै पक्षहरुले निर्धक्कसँग निर्वाचन सम्बन्धि क्रियाकलाप गरे हुन्छ ।’’
प्रजिअ घिमिरेका अनुसार निर्वाचनलाई लक्षित गर्दै जिल्लामा नेपाल प्रहरीको एकहजार पाँचसय, सशस्त्र प्रहरीको एकहजार र नेपाली सेनाका सात सय भन्दा बढी थप सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट जिल्लाका विभिन्न स्थानमा यसअघि नै भएकाले सोही युनिटहरुमा थप सुरक्षाकर्मी गईसकेको र नेपाली सेनाबाट पनि ६ वटै क्षेत्रमा १–१ वटा टोली गईसकेको प्रजिअ घिमिरेले बताए ।
सेनाको टोलीले समेत गस्ती प्रकृया अगाडी बढाईसकेको प्रजिअ घिमिरेले उल्लेख गरे । ‘‘सेनाको टोलीले पनि पट्रोलिङ (गस्ती) गर्न सुरु गरिसकेको छ ।’’ उनले भने–‘‘निर्वाचन सम्पन्न नभएसम्म अब तीनवटा सुरक्षा निकायका थप सुरक्षाकर्मीहरु शान्ति सुरक्षाको व्यवस्था मिलाउन फिल्डमा सकृय रहनेछन् ।’’ गृह मन्त्रालयले सर्लाहीलाई निर्वाचनको लागि सुरक्षाको हिसावले अति संवेदनशिल जिल्लाको रुपमा राखेकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाईएको प्रजिअ घिमिरेले दावी गरे ।
No comments:
Post a Comment