म्यादी प्रहरीहरु भाग्ने क्रम जारी
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०६ । सुविधाको विषयमा असन्तुष्टि जनाउँदै सर्लाहीबाट नियुक्ति लिएका म्यादी प्रहरी भाग्ने क्रम जारी छ । नियुक्ति लिईसकेका नआउने र तालिममा सहभागि पनि भाग्ने क्रम बढेपछि सर्लाहीमा म्यादी प्रहरीको संख्या निकै कम हुने भएको छ ।
सदरमुकाम मलंगवा स्थित कभर्डहलमा जिल्ला प्रहरी कार्यालयले गराईरहेको तालिममा सहभागि मध्ये बुधबार पूनः ९ जना म्यादी प्रहरी भागेका छन् । आवेदन लिने बेलामा नेपाल प्रहरीका जवानको २ महिना बराबरको सम्पूर्ण सुविधा उपलब्ध गराउने भनिएपनि हाल डेढ महिनाको मात्र सुविधा दिने भनिएपछि तालिममा सहभागि भएका म्यादी प्रहरी भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बुधबार मात्र ९ जना म्यादी प्रहरीले सुविधा कम भएको भन्दै छाडेको बताए । ‘‘दिउँसो तालिम दिनजाँदा विहान सहभागि भएका मध्ये ९ जना हिडिसकेछन् ।’’ प्रवक्ता ओलीले बुधबार सर्लाही दैनिकसँग भने–‘‘विहान तालिम दिने क्रममा डेढ महिनाको मात्र पारिश्रमिक पाईने भनेपछि केहीले अनुहार खुम्च्याउँदै थिए, दिउँसो त भागेछन् ।’’ आवेदन लिनेबेलामा नेपाल प्रहरीको जवानले खाने दुईमहिनाको संपूर्ण सुविधा दिने भनिएपनि हाल डेढ महिनाको मात्र पाईने सुनेपछि र अर्को जिल्लामा खटिनु परेकाले म्यादीहरु धमाधम भाग्न थालेको प्रवक्ता ओलीले बताए ।
सर्लाहीमा एकहजार चारसय ६५ जना म्यादी प्रहरी खटाईने भएपनि धनुषाबाट एकहजार दुईसय ७९ जना जना मात्र आईपुगेका थिए । धनुषाबाट नियुक्ति बुझेर सर्लाही आउनुपर्ने म्यादीहरु नआएको प्रवक्ता ओलीले जानकारी दिए । आएकामध्ये इलाका प्रहरी कार्यालय हरिवन, लालबन्दी, केशरगञ्ज, हरिपुर र बरहथवालाई १ सय २५ जनाको दरले तथा इलाका प्रहरी कार्यालय गडहियामा १ सय ३२ जना पठाईएको थियो भने बाँकीलाई मलंगवामै राखिएको छ । तालिममा आएका म्यादीहरु केही दिन दुईछाक खाना खाँदै भाग्दै गरेका कारण खाना खुवाउने ‘क्याटरिङ’ वालालाई समेत समस्या देखिएको प्रवक्ता ओलीले बताए ।
No comments:
Post a Comment