काठमाण्डौको टोलीले चोरीको जीप पक्रयो
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ५ । काठमाण्डौबाट आएको एक प्रहरी टोलीले मंगलबार सर्लाहीबाट दुईवटा जीप नियन्त्रणमा लिएको छ ।
चोरीको आरोपमा नियन्त्रित जीप टोलीले मंगलबार नै काठमाण्डौतर्फ लगेको छ । ट्राफिक प्रहरी महाशाखा बग्गीखाना काठमाण्डौको टोलीले ग. १ च ६७५० नम्बरको बोलेरो जीप र बी आर ०७९४ भारतीय नंम्बरको स्कार्पियो जीप नियन्त्रणमा लिएको हो । सादा पोसाकमा सरकारी जीपमा आएका ट्राफिक प्रहरीको टोलीले दिउँसो मलंगवाबाट उक्त जीपहरु नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार चोरीको गाडी हो भन्ने सुराकीको आधारमा ट्राफिक प्रहरी निरिक्षक दुर्गा श्रेष्ठको नेतृत्वमा विहान आएका सुरक्षाकर्मीले ती जीपहरु नियन्त्रणमा लिएको हो ।
जीप सहित दुईजना चालक नियन्त्रणमा लिएको भएपनि उनीहरुलाई ईलाका प्रहरी कार्यालय हरिपुरको जिम्मा लगाएर टोली मंगलबार दिउँसो साँढे १ बजे काठमाण्डौतर्फ लागेको थियो । टोलीले बुझाएका दुईजनालाई इलाका प्रहरी कार्यालय हरिपुरले मंगलबार साँझ नै छाडेको छ ।
उनीहरुले ग्राहक बनेर ती जीपहरु नियन्त्रणमा लिएका थिए । स्रोतका अनुसार प्रहरी टोलीले जीप किन्ने भन्दै केही व्यत्तिलाई पैसाको ‘मुठो’ नै बोकाएर ल्याएका थिए ।
प्रहरी उपरीक्षक रविन्दबहादुर धानुकले काठमाण्डौबाट आएको टोलीले मलंगवा क्षेत्रबाट दुईवटा जीप नियन्त्रणमा लिएर गएको पुष्टी गरे ।
No comments:
Post a Comment