काम गर्ने भारतीय ठेकेदारको प्रतिबद्धता
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । नवलपुर–मलंगवा सडकखण्डमा आगामी आइतबारबाट भारतीय ठेकेदार कम्पनी भिश्वा कन्स्ट्रक्शनले मर्मत संभारको काम सुरु गर्ने भएको छ ।
बिहिबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको बैठकमा भारतीय ठेकेदार कम्पनी भिश्वाका प्रतिनिधिले आगामी आइतबारदेखि नवलपुर–मलंगवा सडकखण्डमा मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालय अन्तर्गत हुलाकी राजमार्ग आयोजनाका प्रमुख विरेन्द्र वादे श्रेष्ठले नवलपुर–मलंगवा सडकखण्ड सहित तराईका हुलाकी राजमार्ग पुनर्निर्माण कार्य हेर्ने दुवै देशका सम्बन्धित अधिकारीहरु रहने ‘स्टेरिङ’ कमिटीको बैठकमा भारतीय ठेकेदारले प्रतिबद्धता जनाएको बताए ।
‘‘पूनर्निर्माणको जिम्मेवारी लिएको भारतीय ठेकेदारका प्रमुखले आगामी आइतबारबाट पुनर्निर्माण हैन तत्कालिन मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।’’ बैठकमा सहभागि श्रेष्ठले सर्लाही दैनिकसँग भने–‘‘मर्मत संभारका लागि भारतीय सरकारले नै बजेट उपलब्ध गराउने छ ।’’ तत्कालका लागि सवारी साधन गुड्न सहज हुनेगरी खाडलहरु पुरेर सम्याउने काम गर्ने भारतीय ठेकेदारबाट प्रतिबद्धता आएको श्रेष्ठले बताए । ‘‘आइतबारबाट हामी मर्मतको लागि उपकरणहरु परिचालन गर्छौं ।’’ ठेकेदारको भनाई उद्धृत गर्दै श्रेष्ठले भने–‘‘कुनै कारणबस सोमबार वा मंगलबार पनि हुन सक्छ ।’’
बैठकमा भौतिक योजना तथा निर्माण मन्त्रालयका भौतिक पूर्वाधार तथा यातायात शाखा हेर्ने सहसचिव सुदर्शन राम भण्डारीको नेतृत्वमा सम्बन्धित सरकारी निकायका प्रमुख तथा भारतीय सरकारको तर्फबाट सहसचिव अभय ठाकुरको नेतृत्वको टोली सहित तराईका विभिन्न सडक पूनर्निर्माण गर्ने ठेक्का लिएका भारतीय ठेकेदार, भारतीय कन्सल्ट्यान्ट्सका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दुईपक्षबीच नियमित रुपमा बस्ने स्टेरिङ कमिटीको छैठौं बैठक बिहिबार झण्डै चार घण्टा चलेको थियो ।
उक्त सडकहरु पुनर्निर्माणका लागि भारतीय ठेकेदारलाई हस्तान्तरण गरिसकिएकाले नेपाल सरकारको तर्फबाट चाहेरपनि कुनै काम गर्न नसकिने भएकाले मर्मत संभारका लागि पनि भारतीय पक्षलाई आग्रह गर्नुपरेको आयोजना प्रमुख श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बैठकमा नेपाल सरकार र भारतीय ठेकेदार दुवैपक्षबाट कमि कमजोरी भएको औंल्याईएको र आगामी दिनमा त्यस्ता कमि कमजोरीहरुलाई सुधार गर्ने सहमति भएको छ । नेपाल सरकारकातर्फबाट समयमै सडक पुनर्निर्माण स्थल खाल नगराईनु कमजोरीको रुपमा औंल्याईएको थियो । निरन्तर काम सुरु गर्न नपाउँदा दैनिक हजारौं पर्ने उपकरणहरु त्यसै खाली राख्नु परेकाले ठेकेदारलाई पनि समस्या परेको बैठकमा समिक्षा भएको बताईएको छ । ‘‘नियमित काम गर्न नपाउँदा व्ययभार लगायत कारणले आर्थिक समस्या परेको भारतीय ठेकेदारबाट कुरा आयो ।’’ श्रेष्ठले भने । बैठकमा हुलाकी रामार्ग आयोजना अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख किशोरी रायको पनि सहभागिता रहेको थियो ।
पुनर्निमार्ण नहुँदा नवलपुर–मलंगवा सहित हुलाकी सडकखण्डहरु जीर्ण भएकाले आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समस्या परेको भन्दै जिल्ला सुरक्षा समितिको गत असोज १४ गते बसेको बैठकले समेत निर्वाचन अघि नै सो खण्ड मर्मतका लागि पहल गर्न गृह मन्त्रालयसँग माग गरेको थियो । नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सडक पुनर्निर्माणका काम समयमै नहुँदा आम जिल्लाबासी मारमा परेको बताए । ‘‘भारतीय ठेकेदारको लापरवाहीका कारण आम सर्लाहीबासी सहित उक्त सडक प्रयोग गर्ने जो कोहीले पीडा बहन गर्नुपरिरहेको छ ।’’ चौधरीले भने ।
३० महिनाभित्र उक्त सडक निर्माण कार्य सक्नेगरी नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार २०६८ साल वैशाख २९ गतेबाट ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सनले काम सुरु गरेको थियो । तर काम सुरु भएको झण्डै २९ महिना वित्न लाग्दा समेत २५ किलोमिटर सडकखण्डको १ प्रतिशत पनि काम भएको छैन । सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले आगामी कातिक २६ गते भित्र सडक निर्माणको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म सडक नाप्ने र कतै कतै खोतल्ने काम मात्र भएको तथा केही महिनादेखि त ठेकेदारले पूर्ण रुपमा काम नै रोकेकाले सम्झौता अवधी भित्र सडक निर्माणको काम सम्पन्न नहुने निश्चित भएको छ । तलब नपाएका कारण हाल उक्त कम्पनिका मजदुरले समेत काम छाडेको बताईएको छ ।
No comments:
Post a Comment