Wednesday, October 23, 2013

कानून बनाउने दल र उम्मेद्वारबाटै नियम उल्लंघन

कानून बनाउने दल र उम्मेद्वारबाटै नियम उल्लंघन
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, कात्तिक ०६ । आगामी संविधान सभाको निर्वाचनमा सहभागि सर्लाहीका राजनैतिक दल र उम्मेद्वारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको उल्लंघन सुरु गरेका छन् । गत कात्तिक ४ गते सोमबारदेखि लागू भएको आचारसंहिता अनुसार प्रचारप्रसारमा प्रयोग गर्ने सवारी साधनको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयहरुबाट पास लिनुपर्ने भएपनि सर्लाहीमा राजनैतिक दलहरुतर्फ कसैले लिएका छैनन् भने उम्मेद्वारहरुतर्फ क्षेत्र नं. १ का उम्मेद्वार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मात्र एउटा जीपको पास लिएका छन् । मुलुकको मूल कानून बनाउने माध्यमको रुपमा रहेको संविधान सभाको निर्वाचनमा सहभागि राजनैतिक दल र कानून बनाउने सभासद्मा निर्वाचित हुन प्रतिष्पर्धा गरिरहेका संविधान सभाका उम्मेद्वारहरुले स्वयं निर्वाचन आयोगद्वारा जारी आचारसंहिता (नियम) को उल्लंघन गरेर लज्जाजनक व्यवहार प्रस्तुत गरेका छन् । जिल्लामा पार्टीको झण्डा र चुनाव चिन्हका व्यानर फहराएर तथा पोष्टर पम्प्लेट टाँसेर भारतीय नम्बर प्लेटका सहित सयौं सवारी साधन गुडिरहेका भएपनि एकजना उम्मेद्वारले मात्र सवारी साधनको पास लिनुले मूलुकको मूल कानून बनाउन कस्सिएका दल तथा उम्मेद्वारहरु आचारसंहिता पालनातर्फ उदासिन बनेको स्पष्ट भएको छ ।
गत असोज २२ गते मंगलबार पत्रकारिता विकास प्रतिष्ठानद्वारा मलंगवामा आयोजित ‘संविधान सभा निर्वाचन ः सुरक्षा र चुनौती’ विषयक अन्तरक्रियामा आचारसंहिताको पूर्ण पालना गर्ने जिल्ला स्थित मुख्य राजनैतिक दलका प्रमुखहरुले व्यक्त गरेका भएपनि सवारीसाधनको पास नलिएर उल्लंघन सुरु गरेका छन् । बुधबारसम्म क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेद्वार अध्यक्ष झलनाथ खनालले प्रयोग गर्ने एउटा जीपको लागि पास वितरण भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले बताए । राजनैतिक दलतर्फ भने एउटा पनि सवारी साधनको पास वितरण नभएको अधिकारीले बताए ।
‘‘जिल्ला स्थित निर्वाचनमा भाग लिएका राजनैतिक दलहरुलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै आजै पत्राचार गरिसकेका छौं ।’’ मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश अधिकारीले बुधबार सर्लाही दैनिकसँग भने–‘‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि पास लिएको सवारी साधनको विवरण सहित बोधार्थ गरेका छौं, आचारसंहिता विपरित गुडिरहेका सवारीसाधनलाई प्रहरी प्रशासनले आवश्यक कार्वाही गर्नेछ ।’’
पास लिनका लागि कतिपय राजनैतिक दल र उम्मेद्वारहरु सम्पर्कमा भने आईरहेको अधिकारीले बताए । ‘‘सम्पर्कमा आएका राजनैतिक दल तथा उम्मेद्वारहरु मध्ये अधिकांशले भारतीय नम्बर प्लेटका सवारी साधनको अनुमति माग्न आएका छन् ।’’ अधिकारीले भने–‘‘निर्वाचन सम्पन्न नभएसम्मका लागि भन्सार तिरेर आउने भारतीय सवारीसाधनलाई मात्र पास दिईने बताएपछि फर्किरहेका छन् ।’’
प्रचार प्रसारका लागि एउटा राजनैतिक दलले २ वटा तथा एक उम्मेद्वारले २ वटाका दरले हल्का सवारी साधन प्रयोग गर्न पाउने आचारसंहितामा उल्लेख छ । सर्लाहीमा ५४ वटा दलले उम्मेद्वारी दिएका छन् भने स्वतन्त्र सहित जम्मा २ सय ५५ जना उम्मेद्वार कायम छन् । निती निर्माण तहमै सक्रिय हुने एमाले र तीन मधेशवादी दल तमलोपा, तमसपा, सद्भावना तथा चुरेभावरको केन्द्रिय अध्यक्ष लगायतले उम्मेद्वारी दिएको जिल्लामा ५४ वटा दल तथा २ सय ५५ जना उम्मेद्वारले सवारी साधन प्रयोग गर्छन । आर्थिक व्ययभार लगायत विविध कारणले कतिपय उम्मेद्वारले सवारी साधन प्रयोग नगर्ने भएपनि जिल्लाका अधिकांश राजनैतिक दल तथा उम्मेद्वारले पार्टीको झण्डा र चुनाव चिन्हले रंगीचंगी बनाएर प्रचारप्रसारमा जीपहरु प्रयोग गरिरहेको जानकारहरु बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले पार्टीका झण्डा र चुनाव चिन्ह अंकित सवारी साधनको हकमा निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्ने र अन्य भारतीय सवारी साधनले पनि भन्सार तिरेको कागजात साथमै राख्नुपर्ने बताए । ‘‘प्रचारप्रसारमा प्रयोग भएका सवारी साधनसँग पास हेरिन्छ र सामान्य भारतीय सवारीसाधनको भन्सारको कागजात हेरिन्छ ।’’ प्रजिअ घिमिरेले भने–‘‘नियमानुसार नभए कानून बमोजिम कार्वाही हुन्छ ।’’
प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले प्रचार प्रसारमा प्रयोग हुने सवारीसाधलाई निर्वाचन अधिकृतको कार्यालयबाट पास लिन र बाँकी भारतीय नम्बर प्लेटका सवारी साधनलाई भन्सार तिरेर गुडाउन बुधबार नै सार्वजनिक सूचना टाँस एवं सदरमुकाम मलंगवामा माईकिङ समेत गरिएको बताए । ‘‘आज र भोली दुईदिनसम्म सूचनाको बाटो हेर्छौं ।’’ प्रहरी उपरीक्षक धानुकले बुधबार सर्लाही दैनिकसँग भने–‘‘पर्सीबाट नियम विपरित गुडेका सवारीसाधन नियन्त्रणमा लिएर कार्वाही थाल्छौं ।’’ जिल्ला प्रहरी कार्यालयले बुधबार दिनभर सदरमुकाम मलंगवामा यसबारे माईकिङ गरेको थियो भने विभिन्न स्थानमा सार्वजनिक सूचना टाँस गरेको छ । विहिबार पनि माईकिङ र सूचना टाँसलाई निरन्तरता दिईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।

No comments:

Post a Comment