Monday, October 28, 2013

चारदिनदेखि ठप्प नवलपुर–मलंगवा सडकखण्ड सुचारु

चारदिनदेखि ठप्प नवलपुर–मलंगवा सडकखण्ड सुचारु
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०९ । सडकखण्ड मर्मतको माग राखेर यातायात व्यवसायी हड्तालमा उत्रिएका कारण चार दिन ठप्प नवलपुर–मलंगवा सडकखण्ड शनिबार साँझबाट सुचारु भएको छ ।
शनिबार अपरान्हबाट नवलपुर–मलंगवा सडकखण्डमा मर्मतको काम सुरु भएकाले सार्वजनिक यातायातका साधनहरु चलाउन सुरु गरिएको सर्लाही बस व्यवसायी संघका सचिव रोशन अधिकारीले बताए । नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत अत्यन्त खाडलहरु बनेको कविलासी गाविस स्थित सिर्सियामा मर्मतको काम सुरु भएकाले सार्वजनिक यातायात सुरु गरिएको सचिव अधिकारीले जानकारी दिए ।
सर्लाही बस व्यवसायी संघले नवलपुर–मलंगवा सडकखण्डमा मर्मत संभारका लागि ग्रेडर सहितका उपकरणहरु चलाउन सुरु नभएसम्म सार्वजनिक यातायात बन्द राख्ने निर्णय गरेको थियो । सडकमा यातायात नै चलाउन नहुने गरी भएको खाल्डा खुल्डी मर्मत नभएसम्मका लागि २५ किलोमिटर नवलपुर–मलंगवा सडकखण्डमा कुनैपनि भाडाका सवारी साधन नचलाउने निर्णय सर्लाही यातायात व्यवसायी संघले गत मंगलबार गरेको थियो । संघको निर्णय अनुसार बुधबारदेखि उक्त सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका थिएनन् ।
सडक पूर्ण रुपमा जिर्ण भएपनि सम्बन्धित निकायले मर्मतका लागि कुनै वास्ता नगरेपछि यातायात व्यवसायी अनिश्चित हड्तालमा उत्रिएका कारण गत बुधबारदेखि नवलपुर–मलंगवा सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका थिएनन् । चारदिनदेखि सार्वजनिक सवारी साधन नचलेका कारण उत्तरी क्षेत्रबाट सरकारी काम परेर सदरमुकाम मलंगवा जानुपर्ने सर्वसाधारण तथा दैनिक कार्यालयमा काम गर्न जानुपर्ने कर्मचारी एवं दक्षीणी क्षेत्रबाट पूर्व–पश्चिम राजमार्ग क्षेत्रतर्फ आउनुपर्ने सर्वसाधारण मारमा परेका थिए । शनिबारसाँझदेखि सार्वजनिक सवारी साधन सुचारुसँगै जिल्लाका आमसर्वसाधारणले राहत महसुस गरेका छन् ।
नवलपुरदेखि मलंगवासम्मको २५ किलोमिटर दुरीमा आधा घण्टा मात्र समय लाग्नुपर्ने भएपनि जिर्ण सडकका कारण दुई घण्टासम्म लाग्ने गरेको र सवारी साधनमा टुट्फुट् एवं दुर्घटना समेत बढेका कारण अनिश्चितकालिन हड्तालमा उत्रनु परेको सर्लाही बस व्यवसायी संघका अध्यक्ष शिवशंकर रायले बताए । बुधबारदेखि सुरु भएको यातायात व्यवसायीको हड्तालका कारण नवलपुर–मलंगवा सडकखण्डमा निजी सवारी साधनमात्र सुचारु थिए । उक्त सडकखण्डामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारी साधनहरु नवलपुर तथा मलंगवामै थन्केर बसेका थिए ।
जिर्ण सडकका कारण आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समेत गम्भिर कठिनाई परेको जनाउँदै गत असोज १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत सडक मर्मतका लागि पहल गर्न गृहमन्त्रालय समक्ष माग गरेको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले सडक खण्ड जीर्ण भएका कारण सुरक्षा व्यवस्थामा नै कठिनाई परेकाले मर्मत संभारका लागि माथिल्लो निकायमा लिखित निर्णय नै गरेर आग्रह गर्नु परेको बताए ।
नागरिक समाज सर्लाहीका अगूवा उग्रकान्त झाले नेपाल सरकारका सम्बन्धित निकाय तथा उक्त सडक पुनर्निर्माणको जिम्मेवारी लिएको भारतीय ठेकेदारको लापरवाही एवं उदासिनताका कारण तोकिएको समयमा काम नभएको आरोप लगाए । ‘‘तोकिएको समयभित्र सडक निर्माणको काम नहुनुमा नेपाल सरकार र भारतीय ठेकेदार दुवैपक्षबाट उतिकै कमजोरी देखिएको छ ।’’ झाले भने–‘‘दुवैपक्षले गम्भिर भएर अगाडी बढे २५ किलोमिटर सडक निर्माणको काम गर्न कुनै गाह्रो छैन ।’’
गत विहिबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा नेपाल र भारत सरकारका सहसचिव नेतृत्वको टोलीबीच भएको बैठकमा पनि हालसम्मको प्रगति एवं कामको मुल्यांकन र समिक्षा भएको थियो । नवलपुर–मलंगवा सडकखण्ड सहित तराईमा निर्माण कार्य सुरु भईरहेको सडकहरुको नेपाल सरकारको तर्फबाट काम हेर्ने हुलाकी राजमार्ग आयोजनाका प्रमुख विरेन्द्र वादे श्रेष्ठले भारत सरकारबाट नवलपुर–मलंगवा सहित काम रोकिएका सडकखण्डहरुमा तत्काल मर्मतको काम सुरु गराउने प्रतिबद्धता आएको बताए ।
३० महिनाभित्र उक्त सडक निर्माण कार्य सक्नेगरी नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार २०६८ साल वैशाख २९ गतेबाट भारतीय ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सनले काम सुरु गरेको थियो । तर काम सुरु भएको झण्डै २९ महिना वित्न लाग्दा समेत २५ किलोमिटर सडकखण्डको २ प्रतिशत पनि काम भएको   छैन । सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले आगामी कातिक २६ गते भित्र सडक निर्माणको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म सडक नाप्ने र कतै कतै खोतल्ने काम मात्र भएको तथा केही महिनादेखि त ठेकेदारले पूर्ण रुपमा काम नै रोकेकाले सम्झौता अवधी भित्र सडक निर्माणको काम सम्पन्न नहुने निश्चित भएको छ । तलब नपाएका कारण हाल उक्त कम्पनिका मजदुरले समेत काम छाडेको बताईएको छ ।

No comments:

Post a Comment