Monday, October 28, 2013

कालाज्वर विरुद्ध ‘स्प्रे’ सम्पन्न

कालाज्वर विरुद्ध ‘स्प्रे’ सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । जिल्लाको कालाजार प्रभावित क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि ‘स्प्रे’ गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कालाज्वर प्रभावित क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि औषधी छर्कने कार्य (स्प्रे) गरिएको हो ।
कार्यालयका किटजन्य रोग नियन्त्रण फाँट प्रमुख पल्टु रायका अनुसार जिल्लाका हरिवन, राजघाट र बत्रौल गाविसमा ८२ जना व्यक्ति परिचालन गरी औषधि छर्कने कार्य गरिएको थियो । सेन्टफ्लाई नामक भुसुनाको टोकाइबाट कालाज्वर हुने र पानी जमेको खाल्डा, खुल्डी र ओसिलो ठाउँमा बस्ने सो भुसुना छ फिटको उचाईभन्दा माथि जान नसक्ने यादवले जानकारी दिए ।
यता स्प्रे गर्न आउने व्यक्तिले चामल, दाल, तरकारी माग्ने गरेको जनगुनासो आउने गरेको छ । घरघरमा स्प्रे गर्ने व्यक्तिले स्प्रेकार्य सकेपछि चामल, दाल, तरकारी माग्ने र नदिएमा गाली गर्ने गरेको हरिवनका एक गृहिणीले बताइन् ।
औषधि छर्कन प्रयोग गरिएका व्यक्तिलाई कार्यालयले दैनिक चारसय रुपैयाका दरले ज्याला उपलब्ध गराइएकोले सर्वसाधारण जनताले केही दिनु नपर्ने उल्लेख गर्दै किटजन्य रोग नियन्त्रण फाँट प्रमुख यादवले दुःख दिने व्यक्तिको नाम सहित उजुरी दिन आव्हान गरेका छन् ।

No comments:

Post a Comment