Monday, October 28, 2013

आचारसंहिता उल्लंघन जारी ः प्रहरी मुकदर्शक

आचारसंहिता उल्लंघन जारी ः प्रहरी मुकदर्शक
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०८ । निर्वाचन आचार संहिता लागू भएको ४ दिन वितिसक्दा समेत सर्लाहीका राजनैतिक दल र उम्मेद्वारहरुले सवारी साधनको अनुमति नलिएर त्यसको उल्लंघन गरेका छन् ।
निर्वाचन आयोगले गत कात्तिक ४ गते सोमबारदेखि आचार संहिता लागू गरेको भएपनि जिल्लामा क्रियाशिल राजनैतिक दल र उम्मेद्वारहरुले सवारी साधनको पास लिनेजस्तो सामान्य कामको समेत उल्लंघन गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी भरत घिमिरेका अनुसार शुक्रबारसम्म पनि सबै दल र उम्मेद्वारले सवारी साधनको पास लगेका छैनन् । दुई दर्जन हाराहारीमा मात्र राजनैतिक दल र उम्मेद्वारहरुले सवारी साधनको पास लिएका छन् ।
गत असोज २२ गते मंगलबार पत्रकारिता विकास प्रतिष्ठानद्वारा मलंगवामा आयोजित ‘संविधान सभा निर्वाचन ः सुरक्षा र चुनौती’ विषयक अन्तरक्रियामा आचारसंहिताको पूर्ण पालना गर्ने जिल्ला स्थित मुख्य राजनैतिक दलका प्रमुखहरुले प्रतिबद्धता व्यक्त गरेका भएपनि लागू भएको ४ दिनसम्मपनि सवारीसाधनको पास नलिएर आचार संहिता उल्लंघन जारी राखेका छन् ।
‘‘जिल्ला स्थित निर्वाचनमा भाग लिएका राजनैतिक दलहरुलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै केही दिनअघि नै पत्राचार गरिसकेका छौं ।’’ मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश कृष्ण कमल अधिकारीले सर्लाही दैनिकसँग भने–‘‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि पास लिएको सवारी साधनको विवरण सहित बोधार्थ गरेका छौं ।’’ उनले सबैले सवारी साधनको पास नलगेका भएपनि लिन आउने क्रम बढिरहेको बताए । ‘‘शुक्रबार पनि सवारी साधनको पास लिन आउने क्रम बढिरहेको थियो ।’’ उनले भने–‘‘आचार संहिता उल्लंघनबारे अनुगमन अधिकृत नै थप गरेर अगाडी बढ्ने प्रयास भईरहेको छ ।’’
प्रचार प्रसारका लागि एउटा राजनैतिक दलले २ वटा तथा एक उम्मेद्वारले २ वटाका दरले हल्का सवारी साधन प्रयोग गर्न पाउने आचारसंहितामा उल्लेख छ । सर्लाहीमा ५४ वटा दलले उम्मेद्वारी दिएका छन् भने स्वतन्त्र सहित जम्मा २ सय ५५ जना उम्मेद्वार कायम छन् । आर्थिक व्ययभार लगायत विविध कारणले कतिपय उम्मेद्वारले सवारी साधन प्रयोग नगर्ने भएपनि जिल्लाका अधिकांश राजनैतिक दल तथा उम्मेद्वारले पार्टीको झण्डा र चुनाव चिन्हले रंगीचंगी बनाएर प्रचारप्रसारमा जीपहरु प्रयोग गरिरहेको सबैको सामुन्ने छर्लंग छ । झण्डा नटाँगिएका मोटरसाईकल त मुस्किलले भेटिन्छ ।
जिल्ला प्रहरी कार्यालयले दुईदिन भित्र सवारी साधनको पास नलिए कार्वाही प्रकृया अगाडी बढाउने भनेर गत बुधबार र विहिबार दिनभर सदरमृकाम मलंगवामा माइकिङ र सार्वजनिक सूचना टाँस गरेको थियो । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पास नलिएको सवारी साधन भेटिए शुक्रबारदेखि कार्वाही गर्ने प्रतिवद्धता सहित अगाडी बढेको जिल्ला प्रहरी कार्यालयले त्यसतर्फ प्रभावकारी कदम चाल्न सकेको छैन । आÇनै अगाडी पास नलिएका दर्जनौं सवारी साधनहरु ठूला–ठूला झण्डा र पोष्टर टाँगेर गुडिरहेपनि प्रहरी प्रशासन मुकदर्शक बनेको सर्वसाधारणले गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले शुक्रबारबाट धमाधम पास लिने र भारतीय सवारी साधनको भन्सार काट्ने काम भईरहेकाले केही लचकता अपनाईएको बताए ।
नागरिक समाज सर्लाहीका सदस्य उग्रकान्त झाले जिल्लामा राजनैतिक दल र उम्मेद्वारहरुबाट आचार संहिताको चरम उल्लंघन भईरहेको बताए । ‘‘राजनैतिक दल र उम्मेद्वारहरुबाट आचार संहिताको चरम उल्लंघन भईरहेको छ ।’’ झाले सर्लाही दैनिकसँग शुक्रबार भने–‘‘सम्बन्धित निकायले गम्भिर भएर आचार संहिता लागू गराउनुपर्छ, नत्र स्वच्छ र भयरहित निर्वाचन कागजमा मात्र सिमिति हुन्छ ।’’ झाले नागरिक समाज सर्लाहीमा आबद्ध गाउँ–गाउँमा रहेका नागरिक समाजका सदस्यहरुलाई समेत आचार संहिता उल्लंघन लगायत निर्वाचन गतिविधिको बारेमा जिल्ला शाखामा जानकारी गराउन आग्रह गरेका छन् । निर्वाचनको गतिविधि, आचार संहिता उल्लंघन लगायत बारेमा छलफल गर्न शनिबार विहान मलंगवामा नागरिक समाजको भेला राखिएको झाले बताए ।
मुलुकको मूल कानून बनाउने माध्यमको रुपमा रहेको संविधान सभाको निर्वाचनमा सहभागि राजनैतिक दल र कानून बनाउने सभासद्मा निर्वाचित हुन प्रतिष्पर्धा गरिरहेका संविधान सभाका उम्मेद्वार स्वयंले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता (नियम) को उल्लंघन गरेर लज्जाजनक व्यवहार प्रस्तुत गरेको सर्वसाधारणले महसुस गरेका छन् ।

No comments:

Post a Comment