मःमः पसलबाट हजारौं आम्दानी गर्छन् दिदीबहिनी
सर्लाही समाचारदाता
हरिवन, कात्तिक ०९ । कमाउनका लागि वैदेशिक रोजागारीमा जाने लहर नै चलेको छ । स्वदेश तथा आÇनो ठाउँमा केही काम पाईएन वा गर्न सकिएन भन्दै कामका लागि विदेशिने पुरुषको लहर अनगिन्ती नै छ र महिलाहरु समेत उल्लेख्य संख्यामा विदेशिरहेका छन् ।
तर त्यस्ता महिलाहरुलाई हरिवन स्थित एकै घरका दिदीबहिनी मःमः पसल सञ्चालनबाट मासिक हजारौं आम्दानी गरेर उदाहरणीय बनेका छन् । हरिवन गाविस–२ स्थित एकै घरमा जेठानी र देउरानी क्रमशः लक्ष्मी भट्टराई र पुजा भट्टाराईले घुम्ती मःमः पसल सञ्चालन गरी मासिक एकलाख भन्दा बढीको कारोबार गर्ने गरेका छन् । ‘‘दिनको तीन हजार ३५ सयको व्यापार हुन्छ ।’’ लक्ष्मीले भनिन्–‘‘दैनिक १५ सय देखि दुईहजारसम्म नाफा हुन्छ ।’’
स्थानीय हरिवन बजार र गाउँहरुमा ठेला घुमाएर चलाउने उनीहरुको पसलमा मःमः र चाउमिन पाईन्छ, त्यो पनि साकाहारी मात्र । ‘‘दिउँसो २ बजेदेखि घरबाट निस्कन्छौं ।’’ पुजाले भनिन्–‘‘साँझ ७ बजेतिर घर फर्कन्छौं ।’’ तीन महिनादेखि सुरु गरेको उनीहरुको घुम्ती पसलमा जुनसुकै चोक चौराहामा मःमः र चाउमिन खानेको भिड लागिहाल्छ । दुवैजना गाह्रो नमानिकन हाँसी–हाँसी मिजासिलो व्यवहारमा ग्राहकको सन्तुष्टिमा जुट्ने गर्दछन् ।
२५ हजार रुपैयाबाट व्यवसाय सुरु गरेको लक्ष्मीले बताईन् । लागत कम मिहिनेत बढी लाग्ने उनीहरु दुवैजना यो व्यवसायबाट सन्तुष्ट पनि छन् । ‘‘घर व्यवहार चलाउन मज्जाले पुगेको छ ।’’ दुवैजनाले हँसिलो अनुहारमा भने । उनीहरुले पोखरामा बस्दा मःमः र चाउमिन बनाउन सिकेका हुन् । सँगै मःमः पसल चलाउँने उनीहरु दुवैजनाका श्रीमानहरु पनि विदेशमा सँगै काम गर्ने गर्दछन् ।
एउटै घरका जेठानी देउरानीबीच झैझगडा एवं कपाल भुत्लाभुत्ली समेत हुने गरेका अनेकौं उदाहरणबीच अत्यन्त मिलनसार बनेर व्यवसाय गर्दै लक्ष्मी र पुजा सामाजिक रुपले अनुपम नमूना बनेका छन् । ‘‘अधिकांश घरमा जेठानी र देउरानीबीच झैझगडा हुने गर्दछ ।’’ हरिवनमा थापा वैष्णव होटल चलाईरहेका चन्द्रबहादुर थापाले भने–‘‘यी जेठानी–देउरानीले भने असाध्यै मिलेर पसल चलाईरहेको देख्दा अचम्म लाग्छ ।’’
ठूला–ठूला सपना देख्ने र सानो खालका काम गर्न हिच्किचाउने प्रचलन बढ्दै गएकाले वेरोजगारको समस्या बढ्दै गएको जानकारहरु बताउँछन् । काम सानो हुँदैन, खाली बसेर मानो भरिदैन भन्ने भनाईलाई मनन् गर्ने हो भने आÇनै गाउँ घरमा पनि स्वरोजगार बन्न सकिने दिदीबहिनीको मःमः पसल स्पष्ट उदाहरण हो ।
No comments:
Post a Comment