Wednesday, October 23, 2013

अग्रवाल घटनामा अदालतको आदेश, बाबुलाई कारागार ः छोरालाई तारेख

अग्रवाल घटनामा अदालतको आदेश
बाबुलाई कारागार ः छोरालाई तारेख
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ५ । उद्योग वाणिज्य संघ मलगवाका अध्यक्ष रंगलाल अग्रवाल मृत अवस्थामा फेला परेको घटनामा संलग्नताको दावी गर्दै प्रहरीले मुद्धा दायर गरेका दुईजना मध्ये एकलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश गरेको छ ।
मंगलबार जिल्ला अदालत सर्लाहीको आदेश अनुसार मलंगवा नगरपालिका–८ निवासी शिवनाथ चौधरी कारागार चलान भएका हुन् । उनीसँगै प्रहरीले मुद्धा दायर गरेका भोला भन्ने अविनाश चौधरी भने तारेखमा रिहा भएका छन् । शिवनाथ बाबु हुन् भने अविनाश छोरा हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीका अनुसार अदालतको आदेश अनुसार कारागार चलान भएका शिवनाथलाई बुधबार महोतरी कारागार पठाईने छ । साँझ अवेर अदालतको आदेश आएकाले कारागार पठाउन नसकिएको प्रहरीले जनाएको छ । मलंगवा नगरपालिका–८ का ५५ बर्षिय रंगलाल अग्रवाल संघको निर्माणाधिन भवन नजिकै खेतमा भदौ १२ गते राती करिब नौ बजे मोटरसाइकल सहित लडेर मृत अबस्थामा फेला परेका थिए । संघको नेतृत्व चयनका लागि साधारणसभा आयोजना गरिएको अघिल्लो रात उनी मृत फेला परेका थिए ।
रंगलाल अग्रवालको हत्या भएको दावी गर्दै चौधरीद्वय सहित ५ जना विरुद्ध मृतक अग्रवालका छोरा रविले गत भदौ १८ गते मंगलबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी दर्ता भएको झण्डै १ महिनापछि बाबुछोरा दुईजनालाई प्रहरीले गत असोज १० गते विहिबार नियन्त्रणमा लिएर मुद्धा अगाडी बढाएको थियो । उनीहरु दुवै उद्योग वाणिज्य संघ मलंगवामै कार्यरत थिए । किटानी जाहेरीमा उल्लेख भएका मलंगवा नगरपालिका–८ का संजय भन्ने सुगन्ध कुमार गुप्ता, मलंगवा–४ का रविन्द्र साह र मलंगवा–९ का सन्तोष साह फरार रहेकाले उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
साधारण सभाको अघिल्लो रात उनको संकास्पद मृत्यु हुनुले घटना रहस्यमय बनेको उनका आफन्तजन एवं उनी सम्बद्ध संघसंस्थाले दावी गर्दै आएका छन् ।

No comments:

Post a Comment