दुध उत्पादक किसान मर्कामा
सर्लाही समाचारदाता
हरिवन, कात्तिक ०९ । दुधको उचित बजार नभएका कारण जिल्लाका दुध उत्पादक किसान मर्कामा परेका शनिबार हरिवनमा आयोजित एक कार्यक्रममा उल्लेख गरिएको छ ।
पशुपंक्षी प्रवद्र्धन निर्देशानलय हरिहर भवन ललितपुरले आयोजना गरेको असल
दुध उत्पादन र उपयोग प्रवद्र्धनका लागि क्षेत्रिय सचेतना गोष्ठीमा सो कुरा उल्लेख गरिएको हो । जिल्लाका दुग्ध उत्पादक किसान, दुग्ध सहकारी संस्थाका प्रतिनिधी, दुधडेरी संचालक लगायत सहभागि कार्यक्रममा जिल्लामा दुधको बजार नभएका कारण किसानले पानी भन्दा सस्तोमा दुध बेच्नुपरेको बताएका थिए । दुधको बजार तथा जिल्लाका दुध खपतका लागि सरकारले पाउडर दुध उद्योग स्थापना गरिनुपर्ने कार्यक्रममा माग गरिएको थियो । किसानको मागलाई सम्बोधन गर्दै पशुपंक्षि प्रर्बद्धन निर्देशनालयका निर्देशक केशव प्रसाद प्रेमीले दुध चिस्यान, प्रसोधन केन्द्र स्थापनाका लागि कात्तिक–१३ गते भित्र जिल्ला पशुसेवा कार्यालय मलंगवामा आवेदन दिन आग्रह गरेका थिए ।
निवेदन पश्चात छानविन, अध्ययन गरेर कार्य गर्न सकिने उल्लेख गर्दै प्रेमीले दुध चिस्यान केन्द्रका लागि ऋणमा तीन प्रतिशत र दुध प्रशोधन केन्द्रका लागि ५० प्रतिशतसम्म सरकारले अनुदान दिने जानकारी दिए । पशुसेवा कार्यालयका प्रमुख डा. जगविर यादवको सभापतित्वमा संचालन भएको कार्यक्रममा क्षेत्रिय पशुपंक्षी प्रवद्र्धन मध्यमाञ्चल निर्देशक दामोदर सेडाई, वरिष्ठ पशु विकास अधिकृत माधव प्रसाद अर्याल, मलंगवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता, हरिवन गाविस सचिव राजकुमार थापा लगायतका व्यक्तिहरुको उपस्थिती थियो ।
No comments:
Post a Comment