नवलपुर–मलंगवा सडक मर्मत हुने
सर्लाही समाचारदाता
मलंगवा, असोज २४ । प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले जिल्ला स्थित जीर्ण रहेका नवलपुर–मलंगवा लगायत विभिन्न सडकखण्ड मर्मत संभार तत्काल हुने बताएका छन् ।
बुधबार चितवनमा भएको क्षेत्रीय सुरक्षा भेलाका क्रममा गृहमन्त्री माधवप्रसाद घिमिरे समक्ष कुरा राख्दा चाँडै सडक मर्मत संभार गर्ने गरी पहल भईरहेको आश्वासन पाएको प्रजिअ घिमिरले बताए । ‘‘सुरक्षामा कठिनाई परिरहेको कुरा भेलामै पनि राखेको थिएँ र गृह मन्त्रीज्यूलाई पनि भेटेरै भने ।’’ प्रजिअ घिमिरेले विहिबार सर्लाही दैनिकसँग भने–‘‘उहाँले चाँडै सडक मर्मतका लागि पहल भईरहेको र चाँडै हुने आश्वासन दिनुभएको छ ।’’ प्रअिज घिमिरेका अनुसार निर्माण जिम्मा पाएको भारतीय ठेकेदारले सम्झौता अनुसार काम नगरेपछि नेपाल सरकारबाटै तत्कालका लागि मर्मत संभार गर्न माग गरिएको बताए ।
बुधबार चितवनमा धनुषा पश्चिमका मध्यमाञ्चल क्षेत्रभित्र पर्ने ९ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख लगायत सुरक्षा अधिकारीहरुको क्षेत्रीय भेला भएको थियो । आगामी संविधान सभा निर्वाचनमा अपनाउनु पर्ने सुरक्षा व्यवस्था र त्यसमा आईपर्ने चुनौती लगायत बारेमा क्षेत्रीय भेला भएको बताईएको छ ।
सडकखण्ड विग्रिएका कारण आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन कठिनाई भएको समस्या दर्शाउदै केही दिन अघि जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर नवलपुर–मलंगवा लगायत जिल्ला विभिन्न सडकखण्ड मर्मतका लागि पहल गर्न गृह मन्त्रालयसँग माग गरेको थियो ।
No comments:
Post a Comment