सर्लाही समाचारदाता
मलंगवा, असोज २२ । मधेशी जन अधिकार फोरम नेपाल सर्लाहीका अध्यक्ष अशोक कुमार यादवले आफूसँग रहेको अनुमति प्राप्त हतियार बुझाउने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार सदरमुकाम मलंगवामा पत्रकारिता विकास प्रतिष्ठानद्वारा आयोजित संविधान सभा निर्वाचन तयारी र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले त्यस्तो घोषणा गरेका हुन् । जिल्ला न्यायाधिश एवं प्रमुख निर्वाचन अधिकृत कृष्ण कमल अधिकारी, निर्वाचन अधिकृतहरु, प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरे, प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल लगायत उपस्थित कार्यक्रममा अध्यक्ष यादवले निर्वाचनलाई स्वच्छ र भयरहित ढंगबाट सम्पन्न गर्नका लागि सहयोग पु¥याउन आफूसँग रहेको अनुमति प्राप्त हतियार बुझाउने प्रतिबद्धता जनाए ।
स्थानीय प्रशासनले अनुमति प्राप्त हतियार बुझाउन सर्वसाधारणलाई सूचना जारी गरेको थियो । स्थानीय प्रशासनले सूचना जारी गरेपनि तोकिएको म्याद भित्र अनुमति प्राप्त हतियारहरु संकलन भएको छैन । सोमबारसम्म ५१ थान हतियार संकलन भएको प्रहरी प्रवत्तव पृथ्वीनारायण ओलीले बताए ।
स्थानीय प्रशासनले असोज ६ गतेसम्म अनुमति प्राप्त हतियारहरु बुझाउन सर्वसाधारणहरुमा सूचना जारी गरेको थियो । सूचनाको समयावधी भित्र भने २९ वटा हतियारमात्र संकलन भएको थियो । त्यसपछि फाट्टफुट्ट रुपमा सर्वसाधारणहरुले हतियार बुझाईरहेका छन् । जिल्लामा ३ सय ४२ वटा विभिन्न प्रकारका अनुमति प्राप्त हतियारहरु रहेको बताईएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले आफुसँग भएका अनुमति प्राप्त हतियार नबुझाउनेहरुलाई फेला परेमा कार्वाही गरिने बताएका छन् ।
No comments:
Post a Comment