प्रहरीलाई कुटेको आरोपमा नियन्त्रण
सर्लाही समाचारदाता
हरिवन, फागुन १३ । सादा पोशाकका प्रहरीलाई कुटेको आरोपमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले घुर्कौलीका एक युवालाई मंगलबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट जिल्ला प्रहरी कार्यालय मलंगवामा हाँजिर हुन आईरहेका प्रहरी हबल्दार मौसिलाल साहलाई कुटपीट गरेको आरोपमा राजकुमार लामालाई मंगलबार विहान उनको घरबाटै पक्राउ गरिएको हो । मलंगवाको दाईभाई बसमा आउँदै गरेका प्रहरी हबल्दार साहलाई सोमबार साँझ साँढे ५ बजेतिर बसभित्रै लामा सहितका तीनजनाले कुटपीट गरेको बताईएको छ । बसमा चढेको युवतीहरुलाई दुव्र्यवहार गरिरहेको समयमा प्रहरी हबल्दार साहले ‘किन त्यसो गरेको’ भनेर हप्काउँदा उनीमाथि कुटपीट भएको प्रहरी स्रोतले जनायो ।
पूर्वतर्फ आईरहेको बस नयाँरोड कट्ने वितिकै लामा सहित तीनजनाले आफूमाथि कुटपीट गरेको प्रहरी हबल्दार साहले बताएका छन् । आफूमाथि कुटपीट हुन सुरुभएपछि बसका चालकले केही दौडाउन खोजेपनि चालकलाई नै धम्क्याएर बस रोक्न लगाएर उक्त समूह सुखेपोखरीबाट दक्षिणतर्फ भागेको साहको भनाई उधृत गर्दै प्रहरी स्रोतले जनाएको छ ।
कुटपीटबाट घाईते साहलाई नमूना अस्पतालमा उपचार गरि राती हरिवन प्रहरीले आफैसँग राखेको थियो । बसमै यात्रारत अर्का एकजना यात्रुले राती नै चिनाएका आधारमा लामाको घर प्रहरीले पहिचान गरेको र मंगलबार विहान उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका लामालाई देखाउँदा प्रहरी हबल्दार साहले समेत कुटपीट गर्ने लामा नै रहेको ठोकुवा गरेका थिए । आवश्यक अनुसन्धानका लागि लामालाई जिल्ला प्रहरी कार्यालयमा पठाईएको हरिवन प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका लामाका आफन्त एवं गाउँलेहरुले भने उनी निर्दोष रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । लामा सोमबार कतै नगएको र कुटपीट गर्ने स्वभावकै नभएको गाउँलेहरुको दावी रहेको हरिवन प्रहरी स्रोतले जनाएको छ । मंगलबार दिउँसो लामालाई छाड्न माग गर्दै इलाका प्रहरी कार्यालय हरिवनमा उल्लेख्य संख्यामा गाउँलेहरु आएका थिए ।
No comments:
Post a Comment