Saturday, February 22, 2014

‘ठेकेदारले रासन ल्याएकै छैन’

‘ठेकेदारले रासन ल्याएकै छैन’
सर्लाही समाचारदाता
लालबन्दी, फागुन १० । जिल्ला वन कार्यालय अन्तर्गतका सशस्त्र वन रक्षकहरुले आफूहरुलाई रासन खुवाउने जिम्मेवारी पाएको ठेकेदारले कुनै सम्पर्क नगरेको दावी गरेका छन् ।
इलाका वन कार्यालय फूलजोरका सशस्त्र वन रक्षकतर्फका जमदार भिष्म भट्टराईले रासन ठेक्का सकार गरेको ठेकेदारले आफूहरुसँग सम्पर्क नै नगरेको दावी गरे । ‘‘माघ १ गतेदेखि हामिले ठेकेदारबाट रासन पाउनुपर्ने ।’’ जमदार भट्टराईले सर्लाही दैनिकसँग भने–‘‘तर हामीलाई रासन उपलब्ध गराउनुको सट्टा सम्बन्धित ठेकेदारले उल्टै पत्रपत्रिकामा सशस्त्र वन रक्षकहरुले रासन नबुझेको भन्दै गुनासो गरेर हिड्नु गलत हो ।’’ जिल्ला वन कार्यालयले आव्हान गरेको टेण्डर अनुसार रासनको ठेक्का सकार गरेका श्रीराम जेनरल अर्डर सप्लायर्सका सञ्चालक शिवकिशोर सिंहले वन कार्यालयका सशस्त्र वन रक्षकहरुले रासन पु¥याउँदा नबुझेको भन्दै गुनासो गरेपछि त्यस सम्बन्धी समाचार गत माघ फागुन ९ गते शुक्रबार प्रकाशित भएको थियो ।
जमदार भट्टराईले तोकिए अनुसार रासन खुवाउने व्यवस्था मिलाए आफूहरुलाई स्वीकार्य हुने समेत बताए । ‘‘हामि सरकारी नियमअनुसार रासन खान तयार छौं ।’’ उनले भने–‘‘रासन खुवाउने बहानामा जस्तो सुकै सामान ल्याईए कुनैपनि हालतमा बुझ्दैनौं ।’’ रासन खाने कर्मचारीसँग समन्वय नगरी सम्बन्धित ठेकेदारले पत्रपत्रिकामा गुनासो गर्दै हिड्नु गलत भएको समेत भट्टराईले बताए ।
गत पुषमै जिल्ला वन कार्यालयका सशस्त्र वन रक्षकहरुका लागि रासन खुवाउन श्रीराम जेनरल अर्डर सप्लायर्सलाई ठेक्का परेको जिल्ला वन कार्यालयले जनाएको छ । २९ जनाको दरबन्दी रहेको जिल्ला वन कार्यालय तथा मातहतका कार्यालयमा हाल २६ जना सशस्त्र वन रक्षकहरु कार्यरत रहेका छन् । ठेक्का सम्झौतामा टेण्डर सकार गर्नेले सशस्त्र वन रक्षकहरुलाई दाल, चामल, मासु, अण्डा, विस्कुट लगायत १९ किसिमका खानेकुराको व्यवस्था गर्नुपर्ने तोकिएको हुन्छ ।
जिल्ला वन अधिकृत केदार दाहालले भने आफूले रासन ठेक्कामा टेण्डर स्वीकृत गर्ने लगायतका काम सम्पन्न गरेको र अन्य कुराहरुमा भने रासन खाने तथा खुवाउने पक्षबीच समझदारी हुनुपर्ने बताए ।

No comments:

Post a Comment