Thursday, February 20, 2014

सकियो विद्यालय स्तरीय खेलकुद मेला

सकियो विद्यालय स्तरीय खेलकुद मेला
सर्लाही समाचारदाता
हरिपुर, फागुन ०६ । अन्तर विद्यालय जिल्ला स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती उमावि हजरियाले सबैभन्दा बढी एकसय ३७ अंकका साथ प्रथम स्थान हाँसिल गर्दै जिल्ला प्रथम भएको छ । उसले नगद १५ हजार एवं रनिङ शिल्ड हात पारेको छ ।
त्यस्तै एभरेष्ट एकेडेमी जब्दीले एकसय ३३ अंक प्राप्त गर्दै दोस्रो स्थान हाँसिल गरेको छ । उसले नगद १२ हजारका साथै दोस्रो कप पाएको छ । त्यसैगरी इश्वरपुर जनता उमावि बेला मनर्वा एकसय तीन अंकका साथ तेस्रो भएको छ । मनर्वाले नगद नौहजारका साथै तेस्रो कप पाएको छ ।
हरिपुरको हात्तिसार खेल मैदानमा जारी पाँचौ रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फ एथलेटिक्सकी रंगीला बोगटी तथा छात्रतर्फ एथलेटिक्सका मिथुन चौधरी र जनज्योती उमाविका सुनील चौधरी उत्कृष्ट खेलाडी घोषित भएको जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख अरुण भुजेलले बताए । उत्कृष्ट खेलाडीलाई नगद एकहजार पुरस्कार स्वरुप दिईएको थियो ।
जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगितामा १८ वटा विद्यालयका २ सय ४७ जना विद्यार्थीले भलिबल बाहेक २६ विधामा प्रतिष्पर्धा गरेका थिए । ६ वटै क्षेत्रमा स्थानीय विद्यालयहरुबीच गराईएको प्रतिष्पर्धामा छानिएर आएका १८ वटा विद्यालयका विद्यार्थीहरुले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिएका थिए । मंगलबार समापन समारोहका अवसरमा विजयी विद्यालय एवं उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । २६ विधामै प्रथम हुने विद्यार्थीहरुले मध्यमाञ्चल स्तरीय क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्लाहीको तर्फबाट भाग लिनेछन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश थापाको अध्यक्षता एवं नेपाली सेनाको रिपुमर्दन गणका गणपति मनोज वैदवारको प्रमुख आतिथ्यता रहेको समापन समारोहमा मध्यमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका प्रमुख महम्मद जियाउल विशिष्ट अतिथि रहेका थिए  । कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, खेलकुद क्षेत्रका व्यक्तित्व, प्रशिक्षकहरु, विद्यालयका प्रधानाध्यापक, समाजसेवी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment