Wednesday, February 26, 2014

खुला दिशाको विरोधमा मरणासन्न कुटपिट

खुला दिशाको विरोधमा मरणासन्न कुटपिट
सर्लाही समाचारदाता
गैर, फागुन १४ । सर्लाहीलाई खुला दिशामुक्त क्षेत्र बनाउनका लागि घोषणा पत्र सार्वजनिक भएको तीनसाता नबित्दै खुला दिशा गरेको विरोध गर्ने एकजनामाथि मरणासन्न कुटपीट भएको छ ।
जिल्लाको कविलासी गाविस–९ गैर बजारमा खुला दिशा गरेको विरोध गर्ने स्थानीय रामइश्वर महतोमाथि मरणासन्न हुनेगरि कुटपिट भएको हो । मंगलबार साँझ गैर बजारबाट पूर्वतर्फ रहेको घर जाने क्रममा सडकमै खुला दिशा गर्ने क्रममा गालि गलौज गरेको भन्दै महतोमाथि स्थानीय गणेश साह सहित उनको परिवारले मरणासन्न हुनेगरि कुटपिट गरेको गाविस सचिव हकहित संरक्षण केन्द्र सर्लाही अध्यक्ष समेत रहेका स्थानीय हरिकान्तलाल कर्णले बताए ।
साँझ ७ बजेतिर गैर बजारबाट घरतर्फ जाने क्रममा सडकमै दिशा गरेको देखेपछि महतोले ‘सडकमै किन दिशा गरेको’ भनेर गाली गर्दा साह परिवारबाट उनीमाथि निर्घात कुटपिट भएको हो । ‘‘महतोले सडकमै दिशा गरेको भनेर गाली गरेको केही बेरमै उनकै घरमा गएर साह परिवारले बाँसको भाटा सहितले आक्रमण गरे ।’’ कर्णले भने–‘‘घटना लगतै महतोलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पु¥याईयो ।’’
आक्रमण गर्ने गणेश साहलाई प्रहरीले पक्राउ गरेको छ भने कुटपिटबाट घाइते भएका महतोलाई थप उपचारका लागि बुधबार दिउँसो वीरगंजतर्फ पठाईएको प्रहरीले जनाएको छ । कुटपिटबाट महतोको नाक, आँखा सहित शरिरका विभिन्न स्थानमा चोट लागेको छ ।
स्थानीय विकास अधिकारी उमेश बस्नेतको अध्यक्ष रहेको जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छन्दता समन्वय समितिको आयोजनामा सदरमुकाम मलंगवामा गत माघ २४ र २५ गते भएको दुईदिने जिल्ला सरसफाई सम्मेलनले सर्लाहीलाई वि.सं. २०७२ सालभित्र खुला दिशामुक्त क्षेत्र बनाउने गरि आवश्यक कामहरु अगाडी बढाउने घोषणापत्र सार्वजनिक गरेको थियो ।

No comments:

Post a Comment