Thursday, February 27, 2014

गाँजा ओसार्ने ११ जनालाई कैद

गाँजा ओसार्ने ११ जनालाई कैद
सर्लाही समाचारदाता
मलंगवा, फागुन १४ । गाँजा ओसार पसार गरिरहेको अवस्थामा पक्राउ परेका ११ जनालाई सर्लाही जिल्ला अदालतले ८÷८ वर्ष कैद सहित १५ हजारको दरले जरिवानाको फैसला सुनाएको      छ ।
४० क्वीन्टल गाँजा लिएर मकवानपुरको मनहरीबाट महोत्तरीको जलेश्वरतर्फ आउँदै गरेको ट्रक सहित पक्राउ परेका ११ जनालाई जिल्ला न्यायाधिश कृष्णकमल अधिकारीको इजलासले ८÷८ वर्ष कैद र जरिवाना सजाय तोकेको हो । गाँजा ओसारिरहेको अवस्थामा पक्राउ परेका ट्रकका चालक शंकर कार्की, सहचालक अनिल थापा र गाँजा ओसरपसार गर्ने गिरोहका लालु वाइवा, राजकुमार मोक्तान, दिपक कार्की, टिकाराम तमाङ, नविन लामा र चितवनका विर सिंह तमाङलाई पहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानका क्रममा मकवानपुरका गोविन्द पुरी, कृष्ण गिरी, गणेश साह समेत जम्मा ११ जनालाई पक्राउ गरी प्रहरीले लागूऔषध ऐन अनुसार मुद्धा चलाएको थियो ।
प्रहरीले उनीहरुलाई २ लाख २५ हजार नगद सहित पक्राउ गरेको थियो । ना. ३ ख ४५८० नम्बरको कन्टेनरमा चाउचाउको कार्टुनले छोपेर ९० बोरामा लुकाएर ल्याउदै गरेको गाँजा इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक कृष्णप्रसाद(केपी) शर्माको नेतृत्वको टोलीले चेक जाँचको क्रममा बरामद् गरेको थियो । सर्लाही जिल्ला अदालतका मुख्य न्ययधिश कृष्णकमल अधिकारीको इजलासले बुधबार लागु औषध नियन्त्रण ऐन २०३३ दफा ४(क) को १४(१) बमोजिम ११ जना प्रतिवादीहरुलाई ८÷८ वर्ष कैद र १५ हजार रुपैयाका दरले फैसला भएको नासु दिनेश मिश्रले बताए । फौजदारी मुद्धा नं.१९० को गाँजा ढुवानि गर्न प्रयोग भएको ट्रक जफत हुने गरी गाँजा ओसारपसारमा संलग्न ११ जनालाई कैद र नगद जरिवनाका सजाय सुनाइएको नासु मिश्रले बताए ।

No comments:

Post a Comment