Sunday, February 16, 2014

सर्लाहीले फूटबलको राष्ट्रिय प्रतियोगिता खेल्ने

सर्लाहीले फूटबलको राष्ट्रिय प्रतियोगिता खेल्ने


सर्लाही समाचारदाता
लालबन्दी, फागुन ०३ । सि डिभिजन फूटबल प्रतियोगिता अन्तर्गत समूह ‘४’ मा सर्लाही प्रवेश गरेको छ । शनिबार भएको प्रतियोगितामा धनुषालाई पराजित गर्दै सर्लाहीले सि डिभिजन लिग राष्ट्रिय फूटबल प्रतियोगितामा प्रतिष्पर्धा गर्नका लागि स्थान सुरक्षित गरेको हो । शनिबार भएको क्षेत्रिय प्रतियोगितामा धनुषालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै सर्लाही सि डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिताको ‘ग्रुप–४’ मा प्रवेश गरेको सर्लाही फूटबल संघका जिल्ला सचिव एवं प्रशिक्षक अर्जुन चौधरीले बताए । सर्लाही, महोत्तरी, सिन्धुली, धनुषा, उदयपुर र बारा जिल्ला सम्मिलित क्षेत्रिय स्तरको अन्तर जिल्ला लिग फूटबल प्रतियोगितामा धनुषालाई फाईनल प्रतिष्पर्धामा पराजित गर्दै सर्लाहीले उपाधिमा कब्जा जमाएको हो ।
शनिबार लालबन्दी गाविस–५ स्थित खेलमैदानमा भएको प्रतिष्पर्धामा धनुषालाई १ का विरुद्ध २ गोल गर्दै सर्लाहीले ६ वटा जिल्ला सम्मिलित प्रतियोगिताको उपाधी चुमेको हो । ‘‘हामी सि डिभिजन लिगको ‘ग्रुप–४’ को प्रतिष्पर्धामा छनौट भयौं’ ।’’ जिल्ला फूटबल संघका सचिव एवं प्रशिक्षक अर्जुन चौधरीले भने–‘‘अब बी डिभिजनमा उक्लनका लागि प्रतिष्पर्धा गर्दैछौं ।’’
शनिबार अपरान्ह भएको प्रतिष्पर्धात्मक एवं रोमाञ्चक खेलमा सर्लाहीले धनुषालाई २–१ गोलले पराजित गरेको हो । सर्लाहीको तर्फबाट खेल सुरु भएको १६औं मिनेटमा ७ नं. जर्सीका बेनीबहादुर कटुवालले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
त्यस्तै पहिलो हाफ सकिनु केही समयअघि ४४औं मिनेटमा धनुषाको तर्फबाट ४ नंं जर्सीका प्रताप सिंहले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीमा आएपछि दुवै टिमका खेलाडीले गरेको प्रदर्शन र पोष्ट आक्रमणका कारण खेल थप रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको थियो । दुवै टिमका खेलाडीले पोष्ट आक्रमणमा भरमग्दुर प्रयास गरेका थिए । जीत अर्थात ‘सुपर–४’ मा पुग्नका लागि दुवै टिमका खेलाडीले पोष्ट आक्रमणका साथै एकआपसमा ‘फल’ खेल्ने प्रयास समेत गरेका थिए ।
खेल सुरु भएको ८३औं मिनेटमा सर्लाहीको तर्फबाट १२ नं. जर्सीका विक्रम मोक्तानले गोल गर्दै टिमलाई जीतको हकदार बनाए । अत्यन्त प्रतिष्पर्धात्मक रहेको खेलमा मोक्तानको गोल नै निर्णायक रह्यो ।  अथक प्रयासका बाबजुद् धनुषाले खेललाई बराबरीमा ल्याउन सकेन र प्रतिष्पर्धा सर्लाहीको पक्षमा रह्यो ।
खेल अवधिभर सर्लाही र धनुषाका खेलाडीले निरन्तर पोष्ट आक्रमण गरेका थिए । सर्लाही र धनुषा दुवैतर्फबाट भएको कयौं पोष्ट प्रहार त्यसै खेर गएको थियो । सर्लाहीका तुलनामा धनुषाका खेलाडी शारिरिक र प्राविधिक रुपमा केही बलिया देखिएपनि गोल स्कोररमा पछि पर्दा उपाधिको हकदारबाट बञ्चित बने ।
जीतसँगै सर्लाहीले सि डिभिजन लिग राष्ट्रिय फूटबल प्रतियोगिताको ‘ग्रुप–४’ मा खेल्नका लागि स्थान सुनिश्चित बनाएको छ । सर्लाहीको तर्फबाट एभरेष्ट फूटबल एकेडेमी जब्दी र धनुषाको तर्फबाट वनदेवी माई यूवा क्लबले भिडन्त गरेका थिए । जिल्ला स्तरिय लिग च्याम्पियन भएकाले एभरेष्ट फुटबल एकेडेमी, जब्दीले सर्लाहीको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तरजिल्ला फुलबल प्रतियोगितामा प्रतिनिधित्व गरेको हो । सर्लाहीले महोत्तरीलाई ३–१ र बारालाई ४–१ ले पराजीत गर्दै फाईनल प्रवेश गरेको थियो भने धनुषा उदयपुरलाई २–० र सिन्धुलीलाई ३–२ ले पराजित गर्दै फाईनल भिडन्तमा छनौट भएको थियो ।
सर्लाही सहित नुवाकोट, सुर्खेत र संखुवासभामा भएका क्षेत्रीय स्तरका सि डिभिजन लिग फूटबल प्रतियोगिताका विजयी अर्थात ‘ग्रुप–४’ का टिमहरुबीच निकट भविष्यमै सि डिभिजन लिग राष्ट्रिय फूटबल प्रतियोगिता आयोजना हुने सर्लाही फूटबल संघका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । ‘‘ग्रुप–४ मा प्रवेश गरेका चारवटा टिमबीच हुने प्रतिष्पर्धाका विजयी र उपविजयीले बी डिभिजनमा प्रवेश पाउनेछन् र नगद क्रमशः २ लाख र १ लाख पुरस्कार समेत प्राप्त गर्नेछन् ।’’ लालबन्दी खेलमैदानमा गत माघ २८ गते मंगलबारदेखि ६ वटा जिल्लाको सहभागितामा क्षेत्रीय स्तरको अन्तरजिल्ला लिग फूटबल प्रतियोगिता सुरु भएको थियो ।

No comments:

Post a Comment