किशनपुरबासी हेपाटाइटिसबाट त्रसित
सर्लाही समाचारदाता
किशनपुर, फागुन ०४ । प्रकोपको रुपमा फैलिएको हेपाटाईटिस बी को नियन्त्रणका लागि सरोकारवाला निकायले उचित चासो नदिएको भन्दै किशनपुर गाविसका बासिन्दा चिन्तित भएका छन् ।
प्रत्यक्ष हेर्नुपर्ने निकाय जिल्ला जनस्वास्थ्य कार्यालयले समेत उचित चासो नदिएको गाउँलेहरुको आरोप छ । गत शुक्रबार स्थानीय रामप्रताप दासको मृत्यु भएपछि गाउँलेहरु झन त्रसित बनेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले हेपाटाइटिस् बी विरुद्धको खोप मगाउने प्रयास भईरहेको जनाएको छ ।
सो रोग विरुद्धको भ्याक्सीन भारतीय बजारमा मात्र पाईने हुनाले र महंगो खर्च लाग्ने भएकाले पनि समस्या परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । किशनपुर गाविस–१ दलित बस्तिमा हेपाटाइटिस् बी को प्रकोप फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । परिक्षणका लागि काठमाण्डौ गएका केही सर्वसाधारणमा समेत सो रोग फेला परेको स्थानीय बासिन्दाले बताए ।
हाल सो गाउँमा मात्र आधा दर्जन सर्वसाधारण सो रोगको प्रकोपमा परिसकेको बताईएको छ । रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय सहित सरोकारवाला निकायसँग समन्वयको प्रयास भईरहेको गाविस सचिव हरिकान्तलाल कर्णले बताए । मुलुकमा विभिन्न शहरहरुका साथै स्वास्थ्य संस्थाहरुमा समेत नपाईएकाले भारतबाटै भनेपनि सो रोग विरुद्धको भ्याक्सीन मगाउनका लागि पहल सुरु गरिएको कर्णले बताए । साथै गाउँमा थप व्यक्तिमा प्रकोप फैलन नदिन जनचेतना मुलक कार्यक्रमहरु भईरहेको बताईएको छ ।
भारतमा रोजगारी गरेर फर्किएकाहरुले सो बस्तीमा हेपाटाइटिस् बी रोगको प्रकोप निम्त्याएको हुन सक्ने स्वास्थ्यकर्मीहरुले अनुमान गरेका छन् । सो रोग थप व्यक्तिमा फैलन नदिनको लागी निश्चित स्थानमा शौच गर्नुपर्ने, छुट्टै ओछ्यानको प्रयोग गर्ने, बिरामीको जुठो खान नहुने लगायत चिकित्सकहरुको सल्लाह छ ।
No comments:
Post a Comment