राष्ट्रपति रनिङ शिल्डको भिडन्त सुरु
सर्लाही समाचारदाता
हरिपुर, फागुन ०४ । विद्यार्थीहरुबीच प्रतिष्पर्धा हुने जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबार हरिपुरको हात्तिसार चौरमा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन् गर्दै प्रजिअ घिमिरेले खेलकुदको क्षेत्रमा सक्दो तयार रहेको बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा कराँतेका साफ च्याम्पियन खेलाडी ध्वजमान मोक्तान, नेकपा एमालेका नेता सुरेन्द्र लामा लगायतले मन्तव्य राखेका थिए ।
वक्ताहरुले खेलकुदको क्षेत्रमा राज्यले उचित सहयोग पु¥याउन नसकेको गुनासो समेत गरेका छन् । खेलकुदको क्षेत्रबाट मुलुकको नाम अन्तर्राष्ट्रिय स्तरमा उँचो पार्ने काम भएपनि राज्यले भने उचित लगानी नगरेको वक्ताहरुले गुनासो गरे । स्वास्थ्य र खेलकुद परिपुरक भएकाले स्वस्थ जनताको अपेक्षा गर्नका लागि राज्यले खेलकुदमा जति सक्दो बढी लगानी गर्नुपर्ने वक्ताहरुको धारणा थियो । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य सुनिल बुढाथोकी लगायत स्थानीय विभिन्न राजनैतिक दलका नेता, विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, नागरिक समाजका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।
आगामी मंगलबारसम्म हुने प्रतियोगितामा विभिन्न विद्यालयका २ सय ४७ जना विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थापाले बताए ।
भलिबल, शटपुट, हाइजम्प, लङ्जम्प, दौड सहित ट्रयाक र फिल्डका विभिन्न २३ विधामा खेलाडीहरुबीच प्रतिष्पर्धा हुनेछ । अध्यक्ष थापाका अनुसार जिल्ला स्तरीय प्रतियोगिताका लागि यसअघि नै ६ वटा क्षेत्रहरुमा स्थानीय विद्यालयका विद्यार्थीहरुबीच प्रतिष्पर्धा गराईएको थियो ।
‘‘६ वटै क्षेत्रमा क्षेत्र भित्रका विद्यालयका विद्यार्थीहरुबीच भएको प्रतिष्पर्धामा प्रथम र दोस्रो हुने विद्यार्थीहरु जिल्ला स्तरीय प्रतियोगितामा सहभागि भएका छन् ।’’ थापाले भने–‘‘यस प्रतियोगिताबाट छात्र र छात्रातर्फ प्रथम हुने खेलाडीले मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउनेछन् ।’’ क्षेत्रीय प्रतियोगिता भने चैत दोस्रो सातातिर मात्र हुन्छ ।
No comments:
Post a Comment