Friday, February 21, 2014

उखुको मुल्य घटाउन सरकारलाई उद्योगपतिको पत्र

उखुको मुल्य घटाउन सरकारलाई उद्योगपतिको पत्र
सर्लाही समाचारदाता
हरिवन, फागुन ०९ । चिनी उद्योगपतिहरुले चालु सिजनका लागि उखुको मूल्य प्रति क्वीन्टल चारसय आठ रुपैयाभन्दा बढी दिन नसकिने बताएका छन् ।
केही दिनअघि चिनी उद्योगी र उखु कृषक प्रतिनिधिबीच भएको सहमति अनुसार उद्योगपतिहरुले नेपाल सरकारलाई मूल्य तय गर्ने वार्तामा मध्यस्थता गर्न आग्रह सहित लेखेको पत्रमा सोभन्दा बढी मूल्य दिन नसकिने बताएका हुन् । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमूनी मैनालीले उद्योगपतिहरुले उद्योग मन्त्रालयमा वार्ताका लागि मध्यस्थता गर्न आग्रह सहित पठाएको पत्रमा प्रति क्वीन्टल चारसय आठरुपैयाभन्दा बढी दिन नसकिने उल्लेख रहेको बताए ।
‘‘भारतको विहार स्थित रिगा सुगर मिल्समा तोकिएको भन्दा बढी मूल्य दिन नसकिने व्यहोरा सहितको पत्र उद्योगपतिहरुले उद्योग मन्त्रालयमा पठाएका रहेछन् ।’’ काठमाण्डौमै रहेका मैनालीले शुक्रबार सर्लाही दैनिकसँग टेलिफोनमा भने–‘‘मध्यस्थताका लागि दुवैपक्षले आग्रह गर्ने सहमति भएपनि उद्योगपतिहरुले मूल्य नै तोकेर सरकारलाई पत्र पठाउनु गलत छ ।’’ उद्योगीहरुले जेसुकै प्रस्ताव गरेपनि गतवर्षको भन्दा कम मूल्यमा आफूहरु नमान्ने मैनालीले बताए । ‘‘गतवर्षको भन्दा कम मूल्य कुनै हालतमा स्वीकार गर्दैनौं ।’’ मैनालीले भने–‘‘हामी सशक्त आन्दोलन गर्न मात्रहैन, गोली खान र कÇर्यू  जस्ता राज्यको दमन सहन पनि तयार छौं ।’’ गतवर्ष किसानले प्रति क्वीन्टल चारसय ८१ रुपैंया उखुको मूल्य पाएका थिए ।
‘‘भारतको विहार स्थित रिगा मिल्सले दिएको मूल्यलाई नजिर बनाउन हामी तयार छौं ।’’ मैनालीले भने–‘‘किसानलाई दिने मूल्य भारतकै मूल्यको आधार मान्ने हो भने, भारतमा एकलाखमा पाईने कार नेपालका जनताले पनि त्यतिमै चढन पाउनु प¥यो नि !’’ भारतको रिगाले उखुको प्रति क्वीन्टल भारु दुईसय ५५ दिएको र त्यसमा गतवर्षझै उखु प्रवद्र्धन वापत प्रति क्वीन्टल २५ रुपैया थप्नुपर्ने र चिनीमा भ्याट छुटबापतको थप हुनुपर्ने समेत मैनालीले माग गरे । जसअनुसार प्रति क्वीन्टल चारसय ८१ रुपैयाभन्दा बढी हुने मैनालीको कथन छ ।
उद्योग मन्त्रालयले आगामी आइतबार किसान प्रतिनिधि र उद्योगपतिलाई राखेर उखुको मूल्यका विषयमा छलफल आयोजना गर्न लागेको समेत मैनालीले बताए । उद्योगपतिहरुले सरकारी अधिकारीहरुलाई प्रभावमा पारेर उखुको मूल्य घटाउने षडयन्त्र सुरु गरेको समेत अध्यक्ष मैनालीको आरोप छ । ‘‘चिनीको मूल्य घटेको बहानामा उखुको मूल्य घटाउने षडयन्त्रमा उद्योगपतिहरु लागेका छन् ।’’ उनले भने–‘‘उद्योगपतिहरुले चिनीको मूल्य किन घट्यो भनेर सरकारसँग प्रश्न गर्न सक्छन् तर सोही बहानामा किसानको उखुको मूल्य घटाउनु प¥यो भन्न पाइदैन ।’’ गतवर्षको तुलनामा उखु उत्पादन लागत भने दोब्बर बढेपनि अनेक बहाना देखाएर उद्योगपतिहरुले उखुको मूल्य गतवर्षको भन्दापनि कम दिन खोजेको प्रति मैनालीले आपत्ती जनाए । मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेदबहादुर बुढाथोकीले उखुको मूल्य गतवर्षको भन्दा कम कुनैपनि हालतमा मान्य नहुने बताए । ‘‘गतवर्षको भन्दा कम मूल्य मान्दैनौं ।’’ बुढाथोकीले भने–‘‘सशक्त आन्दोलन गर्छौं ।’’ माघ २९ गते हेटौंडामा भएको चौथो चरणको वार्तामा पनि मूल्यका विषयमा सहमति हुन नसकेपछि उद्योगपति र किसान प्रतिनिधिहरुले मध्यस्थताका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेका थिए । वीरगंजमा भएको तेस्रो चरणको वार्ताले तत्काल उद्योग सञ्चालन गर्ने र माघ मसान्त भित्र मूल्य तय गर्ने सहमति गरेको थियो । सोही सहमति अनुसार पुस १५ गतेबाट इन्दुशंकर चिनी उद्योग हरिवन सहित मुलुकभरका चिनी उद्योगहरु सञ्चालनमा आएका थिए । इन्दुशंकरले शुक्रबारसम्म १३ लाख क्वीन्टभन्दा बढी उखु क्रसिङ गरिसकेको छ । हाल किसानले सून्य मूल्य लेखिएको नेटपूर्जीका भरमा उद्योगलाई उखु दिईरहेका छन् ।
फागुन पहिलो साता वित्दा समेत उखु मूल्यको विवाद नमिल्दा किसानहरु भने चिन्तित बनेका छन् ।  सर्लाहीमा मुलुकभरी नै सबैभन्दा बढी अर्थात २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनी उद्योगले यसवर्ष सिजनमा ४० लाख क्वीन्टल उखु क्रसिङ गर्ने योजना राखेको महाप्रबन्धक विजयकान्त झाले बताए ।

No comments:

Post a Comment