Thursday, February 20, 2014

तत्काल मूल्य निर्धारण गर्न माग

तत्काल मूल्य निर्धारण गर्न माग
सर्लाही समाचारदाता,
हरिवन, फागुन ०७ । कृषक अधिकार महासंघको बुधबार सर्लाहीको हरिवनमा भएको बैठकले छिटोभन्दा छिटो उखुको मूल्य निर्धारण गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष दिपेन्द्र प्रसाद मैनालीको अध्यक्षतामा भएको बैठकले उखु क्रसिङ गरेको लामो समय भैसक्दा समेत मूल्य निर्धारण गर्न उद्योगीहरुले वास्ता नगरेपछि यस्तो माग गरिएको हो । मूल्य निर्धारण गर्न ढिलाई हुँदा किसानहरु अन्योलनमा परेको भन्दै केहि दिन भित्रमा मूल्य निर्धारण नभए कडा आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
मूल्य निर्धारणमा ढिलाई भए आगामी फागुन १० गते हरिवन स्थित सुर्ती विकास मैदानमा किसानहरुको बृहत भेला गराई आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय भएको महासंघका सदस्य राजेश महतोले जानकारी दिए । केहिदिनअघि गोरखापत्रमा यसवर्ष उखुको मूल्य चारसय ८१ रुपैँया निर्धारण भएको समाचारले आफुहरु आचार्य चकित भएको नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उखुको मूल्य निर्धारणमा उद्योगीहरुसँग सम्झौता नभएकाले भ्रममा नर्पन समेत किसानहरुलाई आव्हान गरेका छन् ।
उखुको मूल्य निर्धारण गर्नका लागि चारपटकसम्म विभिन्न ठाउँमा उद्योगी र किसान प्रतिनिधी बीच वार्ता भएपनि मूल्यमा कुरो मिल्न सकेको छैन । यसवर्ष किसानहरुले गतवर्षको भन्दा कम मूल्यमा सम्झौता गर्न नसक्ने बताएका छन भने उद्योगीहरुले चारसय ५० भन्दा बढी दिन नसक्ने अडान राख्दै आएका छन् । गत माघ २९ गते किसानका प्रतिनिधि र उद्योगीहरु बीच हेटौडामा भएको वार्तामा कुरा मिल्न नसकेपछि सरकारसँग मध्यस्थ गरी कुरा मिलाईने निर्णय भएको छ । गतवर्ष उखुको मूल्य चारसय ८१ रुपैँया निर्धारण भएको थियो ।

No comments:

Post a Comment