लागूऔषधमा पूनः १५ दिन म्याद
सर्लाही समाचारदाता
हरिपुर, फागुन ०४ । लागूऔषध कारोबारीको आरोपमा पक्राउ परेका दुईजनालाई इलाका प्रहरी कार्यालय हरिपुरले पूनः म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ ।
ढुंग्रेखोला गाविस–२ घर भएकी ३५ बर्षिया आसामाया बल र महोत्तरी जिल्ला बलुवा गाविस–७ निवासी २६ बर्षिय जिवन महतो विरुद्ध जिल्ला अदालतबाट आइतबार पूनः १५ दिनको म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाईएको हो । गत सोमबार पक्राउ परेका उनीहरुलाई यसअघि ५ दिन म्याद लिईएको थियो ।
सुराकीका आधारमा इलाका प्रहरी कार्यालय हरिवनले आसामाय बलको घरमा खोजतलास गर्दा लागूऔषध बरामद भएको र महतोलाई समेत फेला पारेको थियो । उक्त घरबाट नाईट्रो भ्याट ६९ वटा, कोरेक्स ११ थान, प्रोक्सीवन ४८ वटा, मोबाईल सेट २ थान र नगद ८५ हजार एकसय ४३ रुपैंया बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिला बलले आफूले लागूऔषधको कारोबार गर्ने गरेको स्वीकार गरेकी थिइन् । कोरेक्सको प्रतिबोतल ३ सय रुपैयामा विक्री गर्ने गरेको उनले बताईन् । उनले सँगै पक्राउ परेका महोत्तरीका जीवन महतोसँग अढाई बर्षदेखि चिनजान भएको समेत बताईन् । नयाँ प्रमुखको रुपमा प्रहरी निरीक्षक महेश थापा आएपछि एकसाता भित्र लागूऔषध कारोबारीको आरोपमा ४ जना पक्राउ परिसकेका छन् । अन्य दुईजनालाई पनि हरिपुर प्रहरीले आवश्यक कार्वाही अगाडी बढाएको छ । लागूऔषधका कारण समाजमा चोरी, डकैती, लुटपाट सहित विभिन्न खाले अपराधीक घटनामा वृद्धि हुने भएकाले कडाई गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
भारतीय बजारमा सहजै पाईने र लागूऔषधको रुपमा प्रयोग हुने कोरेक्स, नाइट्रोपाम, नाईट्रोभ्याट, प्रोक्सीभान लगायत औषधीहरु नेपालमा प्रतिबन्धित छन् । सर्लाहीका मलंगवा, त्रिभुवननगर, संग्रामपुर, खुटौना, बलरा, मधुवनी लगायत नाकाबाट लागूऔषध भित्रीने र जिल्लाका विभिन्न स्थान सहित मुलुकका विभिन्न शहरहरुमा समेत ओसारपसार हुने गरेको जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment