‘संविधान निर्माण नभएसम्म पद छाड्दैनौं’
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०२ । उपराष्ट्रपति परमानन्द झाले राजनीति दलले संविधान निर्माण नगरेसम्म पद नछोडने बताएका छन् । शुक्रबार सदरमुकाम मलंगवामा स्वर्णीम एफएमको उद्घाटन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै उपराष्ट्रपति झाले राजनैतिक दलहरुले संविधान निर्माण भन्दा राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्ने कुरामा बढी ध्यान दिनु गलत भएको बताए ।
‘‘राष्ट्रपतिले पदमा बस्न त्रिसुल गाडेर कमण्डलु बोकेको छैन ।’’ उनले भने–‘‘संविधान ६ महिनामा निर्माण गरे हामी ६ महिनामै पद छाड्छौं ।’’ उपराष्ट्रपति झाले संविधान नबनेसम्म १० वर्ष पनि पद नछाड्ने बताए । ‘‘मुलुकमा प्रथम राष्ट्रपतिले नै नयाँ संविधान जारी गर्ने हो ।’’ उनले सुझाए–‘‘दोस्रो, तेस्रो वा छैठौं राष्ट्रपतिले संविधान जारी गर्नै सक्दैन, बरु राजनैतिक दलले हाम्रै अनुहार हेरेर चाँडो संविधान निर्माण गर्न सक्छन् ।’’
संविधान आउने विषयमा शंका बढेकोले संविधान नआए सम्म पद नछोडने उनले प्रष्ट पारे । ‘‘संविधान निर्माण भएपछि हामि (राष्ट्रपति र उपराष्ट्रपति) आफै खुसि साथ पद छाड्छौं ।’’ झाले भने–‘‘पद छोडेरै संविधान आउने के ग्यारेन्टी छ ? पहिलो राष्ट्रपतिले पद छोडेपछि आउने दोश्रो, तेश्रो राष्ट्रपतिले नै संविधान जारी गर्ने अधार के त ?’’ राष्ट्रपति फेर्नु अघि कुन राष्ट्रपतिले संविधान जारी गर्ने हो सुनिश्चित गर्नु पर्ने भन्दै उपराष्ट्रपति झाले भने–‘‘दलहरुले दश वर्ष सम्म बहु प्रतिक्षित विषय संविधान नबनाएसम्म पद छोडदैनौ ।’’
उपराष्ट्रपति झाले संघियताका विषयमा दलको विवादका कारण दोश्रो संविधान सभाले पनि समयमा संविधान निर्माण गर्न नसक्ने शंका बढेको बताए । संघियता दिने र लिने पक्ष विचको लामो समय सम्म झगडा चलिरहेकोले संविधान निर्माणमा शंका उत्पन्न भएको उनले बताए । परिवारमा अंशका लागि झगडा लामो समय सम्म चलेपछि परिवार कमजोर हुन थाल्ने र एकजना पछि हटेर विवाद मिलाए जस्तै संविधान बनाउन विवाद भइरहेको संघियतामा सहमति गरेर राजनीति दल अघि बढनु पर्ने झाले बताए । संघियता पक्ष र विपक्षको झगडाले संविधान अन्यौलमा परेको उल्लेख गर्दै झाले भने–‘‘संघियता केहि दल दिन र लिन तयार भए पनि केहि दल दिन र लिन तयार नहुदा विवाद बढदै गएको हो ।’’
संविधान निर्माण नभएसम्म मधेसका जनताको अधिकार सुनिश्चित नहुने उल्लेख गर्दै उपराष्ट्रपति झाले भने–‘‘संविधान निर्माणका लागि मधेसी जनता जागरुक हुनु आवश्यक छ । संघियता लिनेहरुले दिनेलाई जती दिए त्यतिमा नै सन्तोष गर्छु नभनिदिउन ।’’ उपराष्ट्रपति झाले मधेशका जनताले आवश्यक्ता अनुसार चल्न नसक्दा पछाडी पर्दै गएको समेत स्पष्ट पारे । ‘‘मधेशका जनताहरुबीच साँझ विहान लोटा बोकेर सौच गर्न जाने बानी छुटेको छैन ।’’ उनले भने–‘‘कहाँ लोकसेवा खुलेको छ भन्नेप्रति ध्यान दिईदैन ।’’ उपराष्ट्रपति झाले संघियता पक्षधर र बिरोधिको अडानका कारण दोश्रो संविधान सभाले संविधान जारी गर्नेमा आफु पनि विस्वश्त नरहेको बताए ।
मनोज यादवको सभापतित्वमा भएको एफएम उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरे, स्थानीय विकास अधिकारी उमेश बस्नेत, डिभिजन सहकारी कार्यालयका प्रमुख रामलक्षण राय, मधेशी जन अधिकार फोरम नेपालका केन्द्रीय सदस्य कृष्णदेव यादव, मधेशी जन अधिकार फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादव, संचारकर्मीहरु राजेश अहिराज, शंकर श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रोशन न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । विजय ठाकुरको सञ्चालन रहेको कार्यक्रममा जिल्ला स्थित संचारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।
No comments:
Post a Comment