साक्षरता कक्षाको कोटा निर्धारण
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०८ । जिल्ला शिक्षा कार्यालयले साक्षरता कक्षा संचालनका लागि छनौट भएका संस्थाहरुलाई कक्षा सञ्चालन र गर्ने स्थान निर्धारण गरेको छ ।
जिल्ला शिक्षा कार्यालयले ११ वटा स्रोत केन्द्रहरु अन्तर्गत एक–एकवटा गाविसमा संचालन गर्न साक्षरता कक्षाका लागि विभिन्न ५६ वटा संस्थाहरुलाई कोटा र स्थान निर्धारण गरेको हो । मलंगवा स्रोत केन्द्र अन्तर्गत मलंगवा नगरपालिकामा १ सय ४९ वटा कक्षा, गोडैता स्रोत केन्द्र अन्तर्गत रामवन गाविसमा १ सय ३९, गडहिया डुमरिया स्रोत केन्द्र
अन्तर्गत बलरामा ८८, बरहथवा स्रोत केन्द्र अन्तर्गत राजघाट गाविसमा ९१, मदनपुर स्रोत केन्द्र अन्तर्गत धनगढामा १ सय २५, हरिपुर स्रोत केन्द्र अन्तर्गत पिडारी गाविसमा ९०, हरिपूर्वा स्रोत केन्द्र अन्तर्गत संग्रामपुर गाविसमा १ सय २८, भक्तिपुर स्रोत केन्द्र अन्तर्गत गौरीशंकर गाविसमा १ सय ४२, सुखेपोखरी स्रोत केन्द्र अन्तर्गत घुर्कौली गाविसमा १ सय २५, इश्वरपुर स्रोत केन्द्र अन्तर्गत १ सय ७१ र परवानीपुर स्रोत केन्द्र अन्तर्गत नारायणखोला गाविसमा ५० वटा कक्षा सञ्चालनको निर्णय भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
साक्षरता कक्षा संचालनका लागि कोटा पाएका संस्थाहरुले आगामी फागुन १४ गते भित्र छनौट भएको स्वयमसेवकको नाम, थर, ठेगाना, वडा नं., सम्पर्क नं., कक्षा सञ्चालन गर्ने स्थान र समय सहितको जानकारी गराउनुपर्ने शिक्षा कार्यालय योजना तथा तथ्यांक फाँटका सुनिल कुशवाहाले बताए । सम्बन्धित संस्थाले फागुन २० गतेदेखि तीन महिनासम्म दैनिक दुईघण्टाका दरले कक्षा संचालन गर्नुपर्ने र साक्षरता कक्षाको अवधी सकिए पश्चात सबै व्यक्ति साक्षर भएको सार्वजनिक समारोह गरी घोषणा गर्नुपर्ने छ । साक्षरता कक्षा संचालनका लागि १ सय ६ वटा संस्थाले आवेदन दिएका थिए । जसमा ५६ वटा संस्थालाई छनौट गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment