Saturday, February 22, 2014

हेपाटाइटिस बी देखा परेको डेढ महिनापछि खोप !

हेपाटाइटिस बी देखा परेको डेढ महिनापछि खोप !
सर्लाही समाचारदाता
किशनपुर, फागुन १० । हेपाटाइटिस बी को प्रकोप फैलिएको किशनपुर गाविस स्थित वडा नं. १ र २ का दलित बस्तीमा शनिबार त्यस विरुद्धको खोप लगाईएको छ । दलित बस्तीमा हेपाटाइटिस बी को प्रकोप फैलिएको जानकारीमा आएको डेढ महिनापछि मात्र त्यस विरुद्धको खोप दिईएको हो । गाविसको कार्यालय किशनपुरको सकृयता एवं जिल्ला जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा शनिबार उक्त दलित बस्तीमा हेपाटाइटिस बी विरुद्धको खोप दिईएको छ । पुषको तेस्रो सातातिर उक्त गाउँमा हेपाटाइटिस बी का विरामी फेला परेपनि जिल्ला स्थित स्वास्थ्य कार्यालय सहित सरोकारवाला निकायको उदासिनताका कारण डेढ महिनापछि मात्र त्यस विरुद्धको खोप गाउँमा पु¥याईएको हो । अझैपनि जिल्ला स्थित सरोकारवाला निकायले उचित ध्यान नदिने हो भने खतरानाक मानिने सो रोगको प्रकोप जिल्लाव्यापी नहोला भन्न सकिन्न ।
किशनपुर गाविसका सचिव हरिकान्तलाल कर्णले दलित बस्तीमा शनिबार हेपाटाइटिस बी विरुद्धका खोप ५० जनालाई लगाईएको बताए । ‘‘गाविस कार्यालयले खरिद गरेको खोपहरु जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुले हेपाटाइटिस बी रोगको संक्रमण फैलन सक्ने ५० जना सर्वसाधारणलाई लगाएका छन् ।’’ कर्णले भने–‘‘ज्यादै खर्चिलो हुने भएकाले थप खोपहरु ल्याउन समस्या देखिएको छ ।’’ गाविसकै खर्चबाट प्रति गोटा दुईहजार एकसय रुपैया भन्दा बढी तिरेर भारतबाट उक्त खोप मगाईएको सचिव कर्णले बताए ।
जिल्ला जन स्वास्थ्य कार्यालय लगायत माथिल्ला विभिन्न निकायले कुनै चासो नदेखाएपछि बाध्य भएर गाविस कार्यालयको बजेटबाटै हेपाटाइटिस बी विरुद्धको खोप झिकाईएको गाविस सचिव कर्णले बताए । ‘‘दलित बस्तीका बासिन्दाहरुमा
हेपाटाइटिस बी देखिएको खबर आउने वितिकै गत पुस २५ गते नै जिल्ला जनस्वास्थ्यमा आवश्यक प्रकृया अगाडी बढाउन अनुरोध सहित मैले लिखित पत्र दिएको थिएँ ।’’ सचिव कर्णले भने–‘‘तर जनस्वास्थ्य कार्यालयले कुनै वास्ता गरेन र बाध्य भएर गाविस कार्यालयले नै खोप खरिद गरेर ल्याएको हो ।’’
निजी स्वास्थ्यकर्मीहरुलाई गाउँमै ल्याएर परिक्षण गराएपनि जिल्ला जनस्वास्थ्य कार्यालयले मान्यता दिन नसकिने बताएको र सरकारी चिकित्सक तथा माथिल्लो निकायबाट परिक्षण गराउन आग्रह गर्दा समेत कुनै वास्ता नभएको सचिव कर्णले बताए । ‘‘जनस्वास्थ्य प्रमुखले कुनै वास्ता गर्नु भएन ।’’ सचिव कर्णले भने–‘‘बाध्य भएर दलित विकास शिर्षकको बजेटबाट दलित बस्तीमा हेपाटाइटिस बी विरुद्धको खोप ल्याएर चलाएको छु ।’’
दलित बस्तीका स्थानीय रामप्रताप पासवानको केही दिनअघि हेपाटाइटिस बीबाट मृत्यु भईसकेको र आधादर्जन भन्दा बढी सर्वसाधारणहरु सो रोगले ग्रसित भईसकेको बताईएको छ । भारतमा रोजगारी गरेर फर्किएका स्थानीय बासिन्दाले सो गाउँमा हेपाटाइटिस बी रोग फैलाएको अनुमान स्वास्थ्यकर्मीहरुले गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रभाकर झाले सो गाउँमा हेपाटाइटिस बी का विरामीहरु देखिएको र केही समयअघि देखि जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रमहरु गरेको दावी गरे । हाल उक्त दलित बस्तीमा किशनपुर गाविस लगायत आसपासका गाविसबासीहरु नजाने गरेको बताईएको छ । हेपाटाइटिस बी रोग लागेपछि त्यसको उपचार व्यवस्था नै नरहेकाले उक्त रोग लाग्न नदिनका लागि सचेत हुनुपर्ने जनस्वास्थ्य निरीक्षक झाले बताए । लिभर (कलेजो) संक्रमणका कारण निम्तिने उक्त रोग प्राणघातक एचआइभि (एड्स) भन्दापनि खतरनाक मानिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

No comments:

Post a Comment