योजना छान्न विषयगत समितिको बैठक
सर्लाही समाचारदाता
मलंगवा, फागुन १२ । सर्लाहीमा सञ्चालन हुने योजनाहरु छान्नका लागि जिल्ला विकास समितिको कार्यालयको आयोजनामा विकास सम्बन्धी सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका अधिकारीहरुको बैठक बसिरहेको छ । जिविसले तय गरेको पूर्वनिर्धारित कार्यक्रम अनुसार दुई दिनदेखि जारी विषयगत समितिको बैठक सोमबारपनि सम्पन्न हुन सकेन । केही समयअघि सम्पन्न इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाट माग भई आएका योजना कुन कार्यालयबाट सञ्चालन हुने भन्ने लगायत विषयमा निक्र्याैल गर्नका लागि विषयगत समितिको बैठक बसेको हो ।
जिविसले तय गरेको पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबार सामाजिक विकास समिति र वन तथा वातावरण समितिको बैठक सम्पन्न भएको छ । त्यस्तै सोमबार आर्थिक विकास समिति र भौतिक पूर्वाधार विकास समितिको बैठक बसेको थियो । जसमा डिभिजन सिचाई कार्यालय र डिभिजन सडक कार्यालयका प्रमुख तथा जिम्मेवार प्रतिनिधि उपस्थित नहुँदा उक्त समितिको बैठकले पूर्ण निर्णय गर्न सकेन । आगामी फागुन २० गते मंगलबार पूनः छलफल गर्नेगरी सोमबारको बैठक सकिएको छ ।
इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाट आएका विकासे मागहरु मध्ये कुन योजना कुन कार्यालय मातहतमा संचालन हुने भन्ने बारेमा निक्र्यौल गर्नका लागि विषयगत समितिको बैठक बसेको हो । सामाजिक विकास समितिमा मलंगवा नगरपालिका, महिला तथा बालबालिका कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, जिल्ला आर्यूवेद कार्यालय, स्थानीय शान्ति समितिको कार्यालय, बाल संरक्षण समिति तथा सम्बन्धित काम गर्ने गैर सरकारी संस्थाहरु रहेका छन् । त्यस्तै वन तथा वातावरण समितिमा मलंगवा नगरपालिका, जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, टिम्बर कर्पोरेशन, सामुदायिक वन उपभोक्ता समिति महासंघ एवं वन तथा वातावरणको क्षेत्रमा काम गर्ने गैर सरकारी क्षेत्रका प्रतिनिधि लगायत रहनेछन् । सामाजिक विकास समिति र वन तथा वातावरण समितिको बैठक आइतबार नै सम्पन्न भईसकेको छ ।
त्यसैगरी सोमबार आर्थिक विकास समिति तथा भौतिक पूर्वाधार विकास समितिको बैठक बसेको छ । आर्थिक विकास समितिको बैठक जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारीको अध्यक्षतामा बसेको थियो । सो समितिमा मलंगवा नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वागवानी सेवा केन्द्र, उद्योग वाणिज्य संघहरु तथा सामाजिक विकास सम्बन्धी काम गर्ने विभिन्न गैर सरकारी कार्यालयहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै भौतिक पूर्वाधार विकास समितिको बैठक भने आगामी फागुन २० गते पूनः बस्ने गरि सोमबार टुंगीएको छ । डिभिजन सडक कार्यालय र डिभिजन सिचाई कार्यालयका प्रमुखहरु उपस्थिती नभएकाले पूर्ण निर्णय गर्नका लागि आगामी फागुन २० गते अर्को बैठक बस्नेगरि टुंगिएको हो ।
विकास निर्माण गर्ने सरकारी तथा गैर सरकारी कार्यालयहरुले आ–आÇनो ढंगले काम गर्ने र उक्त क्षेत्रमा ठोस काम नहुने गरेको गुनासो आएकाले जिल्ला स्थित सम्पूर्ण विकासे सरकारी तथा गैर सरकारी कार्यालयको संयुक्त बैठक राखेर माग भएका योजनाहरुको जिम्मेवारी हस्तान्तरण गर्नका लागि बैठकहरु राखिएको जिविसका स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । विषयगत समितिहरुको बैठक सकिएपछि एकिकृत योजना तर्जूमा बैठक बस्ने र माग भएका योजनाहरु मध्ये कुन–कुन कार्यालयबाट कुन–कुन योजना सञ्चालन हुने भन्नेबारेमा निक्र्यौल हुने जिविसले जनाएको छ । ‘‘एउटै योजना दुईवटा कार्यालयबाट देखाउने र बजेट छुट्टयाउने प्रचलन देखिएकाले त्यस्ता विकृतिहरुको अन्त्य तथा समन्वयात्मक ढंगले विकासका कामहरु सञ्चालन गर्नका लागि विकास निर्माण सम्बन्धी सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई एकैठाउँमा राखेर छलफल चलाईएको हो ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘जसले गर्दा कार्यक्रमहरु जुध्दैन र एउटै कामका लागि दोहोरो बजेट निकासा पनि हुँदैन ।’’
आगामी फागुन २६ गते जिल्ला परिषद् गर्नेगरि जिल्ला विकास समितिको कार्यालयले तयारी सुरु गरिसकेको छ । भवितव्य घटना आइनपरे तोकिएकै मितिमा जिल्ला परिषद् हुने स्थानीय विकास अधिकारी बस्नेतले बताए ।
No comments:
Post a Comment