विवरण नबुझाउने २ सय ४५ शिक्षक कार्वाहीमा
सर्लाही समाचारदाता
मलंगवा, फागुन १३ । नियमानुसार सम्पति विवरण नबुझाउने सर्लाहीका दुईसय ४५ जना शिक्षकहरु कार्वाहीमा परेका छन् । हरेक वर्ष नयाँ आर्थिक वर्ष लागेको ६० दिन अर्थात भदौ मसान्तभित्र सरकारी सेवा सुविधा पाउने शिक्षक सहित कर्मचारीहरुले सम्पति विवरण बुझाउनुपर्ने नियम छ । यसवर्ष तोकिएको समय भित्र सम्पति विवरण नबुझाएका कारण सर्लाहीका दुईसय ४५ जना शिक्षकलाई पाँचहजार जरिवाना सहित फागुन मसान्त भित्र त्यस्तो विवरण बुझाउन निर्देशन दिईएको छ ।
शिक्षा मन्त्रालयले केही दिनअघि जिल्ला शिक्षा कार्यालयलाई सम्पति विवरण नबुझाउने शिक्षकहरुलाई पाँचहजार जरिवाना असूल गरि पूनः विवरण पठाउन निर्देशन सहितको पत्र पठाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार शिक्षा मन्त्रालयले सो पत्र जिल्ला शिक्षा कार्यालय पठाएको स्रोतले जनाएको छ ।
पहिलो पटक कार्वाही स्वरुप पाँचहजार जरिवाना गरिएको र पूनः तोकिएको समयमा सम्पति विवरण नबुझाउने शिक्षकहरुलाई थप कार्वाही हुने शिक्षा कार्यालय स्रोतले जनायो । सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुले फागुन मसान्त भित्रमा पाँच हजार जरिवाना सहित बिवरण बुझाउन सुचना टाँस गरिएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिए ।
जिल्लामा हाल प्रावि तहमा एकहजार दुईसय २१, निमावि तहमा दुईसय ८७ र मावि तहमा एकसय ८५ गरि जम्मा एकहजार ६ सय ९३ जना शिक्षक कार्यरत छन् । जसमध्ये विभिन्न तहका २ सय ४५ जना शिक्षकले गत भदौ मसान्त भित्र सम्पति विवरण नबुझाएको शिक्षा कार्यालयले जनाएको छ ।
उनीहरुले फागुन मसान्त भित्र जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालय शिक्षक कितावखानामा जरिवाना रकम र सम्पति विवरण पठाउनुपर्नेछ । जिल्ला शिक्षा कार्यालयमा प्रत्येक शिक्षकहरुले छुट्टाछुट्टै सम्पत्ति बिवरण बुझाउनु पर्ने भएपनि धेरैजसो विद्यालयका शिक्षकहरुले एउटै खाममा राखेर सम्पत्ति बुझाएका कारण पनि कतिपय शिक्षकहरुको नाम कार्वाही लिष्टमा परेको शिक्षा कार्यालय स्रोतले जनायो । सम्पत्ति बिवरण बुझाएरपनि कारवाहीमा नाम परेका शिक्षकहरुले भने कार्यालयमा निवेदन दिन सकिने जिल्ला शिक्षा कार्यालय अधिकारी राजकुमार विश्वकर्माले बताए ।
No comments:
Post a Comment