Friday, February 21, 2014

शिक्षक युनियनको अधिवेशन अन्यौलमा

शिक्षक युनियनको अधिवेशन अन्यौलमा
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०९ । नेपाल शिक्षक युनियनको जिल्ला अधिवेशन केन्द्रले तोकेको समयावधी भित्र नहुने भएको छ ।
शुक्रबार बसेको युनियनमा आवद्ध शिक्षक संघ संगठनका अध्यक्ष र सचिवहरुको बैठकले समय अभावका कारण अधिवेशनको मिति सार्न सिफारिस गर्ने निर्णय गरेको छ । युनियनका अध्यक्ष नवलकिशोर रायको अध्यक्षतामा अपरान्ह शिक्षक भवन मलंगवामा बसेको बैठकले केन्द्रीय समितिसमक्ष जिल्ला अधिवेशनका लागि तोकिएको मिति केही पर सार्न सिफारिस गर्ने निर्णय गरेको हो ।
केन्द्रले आगामी फागुन १५ गतेभित्र जिल्ला अधिवेशन सक्नुपर्ने परिपत्र गरेको तर समयअभावका कारण तोकिएको समयभित्र अधिवेशन गर्न सक्ने अवस्था नरहेकाले युनियनमा आवद्ध सम्पूर्ण व्यानर शिक्षक संगठनका अध्यक्ष र सचिवहरुको बैठकले अधिवेशन गर्ने समयावधी थप गर्न सिफारिस गर्ने निर्णय गरेको युनियनका अध्यक्ष रायले बताए । बैठकमा नेपाल शिक्षक संघका अध्यक्ष कौशलकिशोर राय, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्रप्रसाद यादव, शिक्षक मञ्चका अध्यक्ष श्यामबाबु सिंह र लोकतान्त्रिक शिक्षक फेड्रेशनका अध्यक्ष लालबाबु राय सहितका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । युनियनको राष्ट्रिय अधिवेशन आगामी फागुन २५, २६ र २७ गते तोकिईसकेको र जिल्लाको सिफारिस सदर गर्न केही अÇठ्यारो देखिएको एक शिक्षकले बताए । ‘‘राष्ट्रिय अधिवेशन नै नजिकिई सकेकाले जिल्ला अधिवेशन पर सार्ने कुरा केन्द्रले स्वीकार गर्ने सम्भावना कम छ ।’’ उनले भने–‘‘यदि जिल्लाको सिफारिस सदर नभएमा र जिल्लाले फागुन १५ गतेभित्र अधिवेशन नगरेमा सर्लाहीले शिक्षक युनियनको राष्ट्रिय अधिवेशनमा भाग लिन नपाउने निश्चित हुन्छ ।’’
चारवर्षे कार्यकालका लागि २०६५ सालमा नवलकिशोर रायको अध्यक्षतामा युनियनको जिल्ला नेतृत्व चयन भएको थियो । युनियनमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, शिक्षक मञ्च, नेपाल राष्ट्रिय शिक्षक परिषद र लोकतान्त्रिक शिक्षक फेड्रेशन आवद्ध रहेका छन् ।

No comments:

Post a Comment