प्रजातन्त्र दिवसका अवसरमा विविध कार्यक्रम
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०७ । ६४औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरु भएका छन् ।
बुधबार विहान सदरमुकाम मलंगवामा जिल्ला विकास समितिको आयोजनामा प्रभातफेरी निकालिएको थियो । जिविस कार्यालय परिसरबाट शुरु भएको प्रभावतफेरी नगरपरिक्रमा गर्दै पूनः जिविसमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, सहायक प्रजिअ प्रकाशचन्द्र अधिकारी, स्थानीय विकास अधिकारी उमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराई सहित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रजिअ घिमिरे सहितका वक्ताहरुले प्रजातन्त्र दिवसका बारेमा चर्चा गरेका थिए ।
त्यस्तै प्रजातन्त्र दिवसकै अवसरमा हरिवनको सुखेपोखरी स्थित सभिस् फर पिस नेपालले अनाथ बालबालिका सहितको सहभागितामा प्रजातन्त्र दिवस मनाएको छ । सुखेपोखरी स्थित कलश रेस्टुरेन्ट परिसरमा प्रजातन्त्र दिवस बारेका विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो भने प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले प्रजातन्त्रका बारेमा अनाथ बालबालिकालाई चर्चा सुनाएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, नेपाली सेनाको रिपुमर्दन गण पाँचकुमारीका गणपति मनोज वैदवार, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, प्रशासकीय अधिकृतहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कमल खत्री, सर्भिस फर पीस नेपालका महासचिव सरोज खनाल, एमाले नेता केदार मैनाली, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । प्रजातन्त्र दिवसकै अवसरमा भएको ब्याडमिण्टन प्रतियोगितामा प्रजिअ घिमिरे र प्रशासकीय अधिकृत पवन सुवेदीको जोडी विजयी भएको थियो ।
त्यसैगरी प्रजातन्त्र दिवसकै अवसरमा नेपाल विद्यार्थी संघले लालबन्दी स्थित पश्चिम बसपार्कमा साँझ दिप प्रज्वलन गरेको छ । कार्यक्रममा नेविसंघका जिल्ला सभापती बिमल ढुंगेल, नेपाली काँगे्रसका नेता कुवेर आचार्य, स्ववियू सभापती युवाराज देवकोटा लगायत सहभागी भएका नेविसंघका क्षेत्रिय सचिव प्रकाश मैनालीले जानकारी दिए ।
त्यस्तै प्रजातन्त्र दिवसकै अवसरमा जिल्ला स्थित अन्य स्थानहरुमा समेत विविध कार्यक्रमहरु भएको थियो । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानीया राणा शासनको अन्त्य भई शासन सत्तामा प्रजा अर्थात जनताका प्रतिनिधि समेत सहभागि भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ ।
No comments:
Post a Comment