Tuesday, February 25, 2014

उखुको मुल्य तय गर्न किसान नेताको ताकेता

उखुको मुल्य तय गर्न किसान नेताको ताकेता
सर्लाही समाचारदाता
हरिवन, फागुन ११ । उखुको मूल्यका विषयमा अबिलम्ब वार्ताको वातावरण बनाउन उखु उत्पादक महासंघले सरकारलाई लिखित पत्र बुझाएको छ ।
आइतबार उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उखुको मूल्य कायम गर्न मध्यस्थताका लागि लिखित पत्र बुझाएका हुन् । ‘‘उखुको मूल्य तय गर्ने छलफल आयोजना गर्न र वार्तामा मध्यस्थताका लागि आग्रह सहित सरकारलाई लिखित आग्रह सहितको पत्र आज बुझाएका छौं ।’’ आईतबार सर्लाही दैनिकसँग उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले भने–‘‘सम्भवत आगामी मंगलबार त्रिपक्षिय वार्ता हुनेछ ।’’
उखुको मूल्य तय गर्ने विषयमा नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि वास्कोटा अत्यन्त सकारात्मक रहेको समेत महासंघ अध्यक्ष मैनालीले बताए । ‘‘उखुको मूल्य तय सहित वार्ताको मध्यस्थता गर्न नेपाल सरकारका मुख्य सचिव सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई लिखित पत्र बुझाएका छौं ।’’ अध्यक्ष मैनालीले भने–‘‘उहाँहरु उक्त विषयमा अत्यन्त सकारात्मक हुनुहुन्छ र मन्त्रिपरिषद् विस्तार हुने वितिकै उखुको मूल्यका विषयमा तत्काल छलफल आयोजना गरिने आश्वासन दिनुभएको छ ।’’
चिनी उद्योगपतिहरुले उद्योग मन्त्रालयमा उखुको मूल्यका विषयमा मध्यस्थता गर्न आग्रह सहितको पत्र पठाएका कारण सरकारी अधिकारीहरु अन्यौलमा परेको समेत मैनालीले बताए । ‘‘उद्योगीहरुले उद्योग मन्त्रालयमा लिखित आग्रह गरेपछि सरकारी अधिकारीहरु अन्यौलमा परेका रहेछन् ।’’ अध्यक्ष मैनालीले भने–‘‘मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायत सरकारी अधिकारीहरु उद्योग मन्त्रालय वा कृषि मन्त्रालय कसले वार्ताको मध्यस्थता गर्ने भन्ने विषयमा अन्यौलग्रस्त छन् ।’’ आफूहरुले कृषि मन्त्रालयले नै उखुको मूल्यका विषयमा मध्यस्थता गर्नुपर्ने समेत सुझाएको अध्यक्ष मैनालीले बताए । सरकारी अधिकारीहरुले सम्भवतः आगामी मंगलबार उखुको मूल्यका विषयमा त्रिपक्षिय छलफल गराइने आश्वासन समेत दिएको अध्यक्ष मैनालीले जानकारी दिए ।
चिनी उद्योगपतिहरुले गत शुक्रबार उद्योग मन्त्रालयमा चालु सिजनका लागि उखुको मूल्य प्रति क्वीन्टल चारसय आठ रुपैयाभन्दा बढी दिन नसकिने उल्लेख गर्दै मध्यस्थताका लागि लिखित पत्र पठाएको समेत महासंघ अध्यक्ष मैनालीले बताए । माघ २९ गते हेटौंडामा भएको चौथो चरणको वार्तामा पनि मूल्यका विषयमा सहमति हुन नसकेपछि उद्योगपति र किसान प्रतिनिधिहरुले मध्यस्थताका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेका थिए । वीरगंजमा भएको तेस्रो चरणको वार्ताले तत्काल उद्योग सञ्चालन गर्ने र माघ मसान्त भित्र मूल्य तय गर्ने सहमति गरेको थियो ।
दोस्रो चरणको वार्तासम्म उखुको मूल्य प्रतिक्वीन्टल ४ सय ६० रुपैयासम्म दिन सहमत भएका उद्योगपतिहरुले चौथो चरणको वार्तामा उक्त मूल्य दिन नसकिने बताएको र सरकारलाई मध्यस्थताका लागि लेखेको पत्रमा प्रति क्वीन्टल ४ सय ८ रुपैयाभन्दा बढी दिन नसकिने जनाएको महासंघ अध्यक्ष मैनालीले बताए । किसानहरुले गतवर्ष नै प्रति क्वीन्टल ४ सय ८१ रुपैया प्रति क्वीन्टल उखुको मूल्य पाएकाले सो भन्दा कममा कुनै हालतमा सहमति नगरिने महासंघ अध्यक्ष मैनालीले बताए । ‘‘हामी बरु गोली खान र कÇर्यू झेल्न तयार छौं ।’’ अध्यक्ष मैनालीले भने–‘‘तर गतवर्षको भन्दापनि कम मूल्य सहन तयार छैनौं ।’’ उद्योगपतिहरुले चिनीको मूल्य घटेको दृष्टान्त दिदै किसानलाई मारमा पार्न खोजेको उल्लेख गर्दै महासंघका अध्यक्ष मैनालीले उखु उत्पादन लागत दोब्बर बढी भएकाले आफूहरुलाई कुनैपनि हालतमा गतवर्षको भन्दा कम मूल्यमा मान्य नहुने बताए ।
वीरगंजमा भएको तेस्रो चरणको वार्तामा भएको सहमति अनुसार पुस १५ गतेबाट इन्दुशंकर चिनी उद्योग हरिवन सहित मुलुकभरका चिनी उद्योगहरु सञ्चालनमा आएका थिए । इन्दुशंकरले शुक्रबारसम्म १३ लाख क्वीन्टलभन्दा बढी उखु क्रसिङ गरिसकेको छ । हाल किसानले सून्य मूल्य लेखिएको नेटपूर्जीका भरमा उद्योगलाई उखु दिईरहेका छन् ।
फागुन पहिलो साता वित्दा समेत उखु मूल्यको विवाद नमिल्दा किसानहरु भने चिन्तित बनेका छन् ।  सर्लाहीमा मुलुकभरी नै सबैभन्दा बढी अर्थात २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनी उद्योगले यसवर्ष सिजनमा ४० लाख क्वीन्टल उखु क्रसिङ गर्ने योजना राखेको महाप्रबन्धक विजयकान्त झाले बताए ।

No comments:

Post a Comment