मिथिलाञ्चलमा झिँझिया नाचको रौनकता
सर्लाही समाचारदाता
मलंगवा, असोज २३ । विजया दशमीको शुरुवातसँगै मधेशी समुदायका महिला एवं बालिकाहरु झिँझिया नृत्यमा मस्त भएका छन् । मिथिला अन्तर्गतका मधेशी समुदायको बस्तीमा झिँझिया नाच्न सुरु भएको हो । रातीको खाना खाएर सुरु हुने भिँंझिया गीत तथा नाँच मध्यरातसम्म जारी रहन्छ । मध्यरातमा सुरीलो स्वरमा गाइने झिँझिया गीतले मधेसमा चाडपर्वको रौनकता बढाएको स्थानीय बासिन्दाहरुले बताएका छन् । सदरमुकाम मलंगवा लगायत सर्लाहीका विभिन्न मधेशी समुदायको बसोबास रहेको गाउँगाउँमा र त्यसमा पनि विशेषगरी दलित महिलाले बढी झिँझिया मान्ने गरेको जानकारहरु बताउँछन् ।
“चलचल गे डैनिया कदमतर, तोरा बेटाके खैबौ बढमतर” ........अर्थात हिड बोक्सी कदमसम्म तेरो छोरालाई खान्छु ब्रम्हबाबा मन्दिर निर .......... । यस्तै गीतको धुनसंगै झिझिया नृत्य शुरु हुन्छ । दशैंको आगमन संगै बोक्सीलाई गाली गर्ने मधेसको अनौठो तथा ताँन्त्रिक गीत र नृत्य झिंझिया हो । बिशुद्ध ताँत्रिक बिधिमा आधारित झिँझिया नृत्यले गर्दा अहिले मिथिलाञ्चले नै लय र तालको मधुर नृत्यमा झुमेको छ । भने राति महिलाहरुले सुरिलो भाकामा गाउने दोहोरी गीतको माधुर्यले त झन मधेस सुरम्य बनेको छ । मिथिलाको विशुद्ध साँस्कृतिक झलक प्रदर्शन गर्ने यस पर्वमा झिँझिया नृत्यको मौलिकताले विशेष महत्व राख्ने गरेको छ ।
ग्रीष्मको बिदाई र शीतको आगमन सँगै नवरात्रा भरि गाईने गीत र झिँझिया नृत्यले दशैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाई दिने गर्दछ । मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा दलित महिलाहरुको बढी सहभागिता हुने गर्दछ । उनीहरु घटस्थापना भन्दा अगाडी नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्री प्रारम्भ भए पछि समुहमा रहँदै सो घैंटोहरुमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन् ।
झिँझिया नृत्यमा टोल–टोलबीच प्रतिस्पर्धा समेत हुने शिक्षक समेत रहेका गैरबजार निवासी रजनीकान्त झाले बताए । ‘‘माटोको घैंटोमा कसले बढी बढी प्वाल पार्ने, कसले बढी आगो बालेर उज्यालो छर्ने र कसले बढी समयसम्म टाउकोमा आगो बालेको घैंटो राखेर नाच्न सक्ने जस्ता कुराहरुमा प्रतिस्पर्धा समेत हुन्छ ।’’ झाले भने–‘‘झिंझिया गीत र नृत्यमा सहभागि हुने महिलाले गलत नजरले हेर्नेलाई गाली गर्ने र सचेत गराउने गर्दछन् ।’’ पछिल्लो समय साभ्रान्त वर्गका ठानिने मधेशी समुदायका महिलाहरुको झिंझियामा सहभागिता घट्दै गएको झाल बताउँछन् ।
मिथिलाञ्चलमा व्याप्त बोक्सी प्रति तिखो व्यंग गर्दै प्रदर्शन गरिने झिँझिया नृत्यमा महिलाहरुले बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गाउंदै गाउँ परिक्रमा गर्छन् । महिलाहरु चोक चौराहा अनि घर–घर डुल्ने गर्दछन् । तिनीहरु जसको घरमा जान्छन् घरधनीले मट्टितेल वा रकम दिने परम्परा रहेको मलंगवाका शिक्षक नागेन्द्र रायले बताए ।
“तोहरे भरोसे ब्रम्हबाबा झिँझिया बनेलियै हो, ब्रम्हबाबा झिँझिया पर होइयो ना सबार...’’ गीत गाउँदै र नृत्य गर्दै महिलाहरु छमछमी नाचि रहेको दृश्य हेर्दा सबैलाई एकछिन स्तव्ध तुल्याइ दिन्छ । ‘‘कौन भैया जैतन झिँझिया ओरी, आयतन कौन भाउजी झिँझिया खेलाए तनरे...’’ नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको तत्काल मृत्यु हुने जन विश्वासको कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाची रहेका हुन्छन् ।
नृत्य नै झिँझियाको प्रमुख बिशेषताको रुपमा मानिन्छ । बोक्सीले आफ्नो जादूको प्रयोग प्रायः मध्य रात्रि पछि गर्ने विश्वासका कारण यी नृत्य पनि मध्य रातमा प्रारम्भ हुने गर्दछ । जसले सचेत भै जागा रहन सन्देश दिने गर्दछ । झिँझियामा गाईने गीतमा भगबतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दिर्घायुको कामना गरिएको हुन्छ ।
लोकसंस्कृतिको रुपमा रहेको झिँझिया लोप हुँदै गईरहेको उल्लेख गर्दै नागरिक समाजका अगुवा उग्रकान्त झा व्याबसायिकता र प्रतियोगिताको रुपमा लग्न सके मिथिलाञ्चलको यस अपुर्व साँस्कृतिक परम्परालाई बचाउन सकिने बताउँछन् । ‘‘पछिल्लो समय विशेष गरी झिँझियामा दलित समुदायका महिलाहरुको मात्र बढी सहभागिता हुने गरेको देखिन्छ ।’’ उनले भने–‘‘उपल्लो जात ठानिने समुदायका महिलाहरु स्रोता र दर्शकमा सिमित हुँदै गएका छन् ।’’ परापूर्व कालमा बोक्सी डायनी, भूत प्रेत लगायतलाई सराप्दै गीत गाईने झिँझिया प्रचलनलाई समय परिवर्तनसँगै ढालेर लैजानु पर्नेमा लोप नै हुने खतरा बढ्दै गइरहेको झाको कथन छ ।
No comments:
Post a Comment