गम्हरिया हत्यामा थुनछेक बहस
सर्लाही समाचारदाता
मलंगवा, माघ २२ । वृद्धाको हत्याको आरोपमा पक्राउ परेका दुईजना अभियुक्तको विषयमा बुधबार भएको थुनछेक बहस नसकिएका कारण उनीहरुलाई पूनः जिल्ला प्रहरी कार्यालयमा नै थूनामा पठाईएको छ ।
गम्हरिया गाविस–५ का ३५ वर्षिय फेकन अन्सारी र ३८ वर्षिय इजरायल अन्सारीलाई थुनछुेक बहस नसकिएका कारण थूनामा पठाईएको हो । जिल्ला प्रहरी कार्यालयले स्थानीय ५० वर्षिया नाजमुन खातुनलाई गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई कर्तव्य ज्यान मुद्धा अन्तर्गत जिल्ला अदालतमा बुधबार पेश गरेको थियो । विहिबार उनीहरुबारे अदालतबाट कारागार चलान वा रिहाई गर्ने बारेमा आदेश हुने जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो ।
गत कात्तिक २० गते विहान ५ बजे ‘सौच’ गर्न जाँदा नाजमुनलाई गोली हानी हत्या गरेको आरोपमा अन्सारीद्वयलाई गत माघ २ गते विहिबार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार घटना लगतै उनीहरु फरार रहेका थिए । पक्राउ परेका अभियुक्त फेकनकी बहिनी क्षयरोगका कारण मृत्यु हुँदा नाजमुनले बोक्सी लगाई मारेको भनि उनीमाथि ६ महिनाअघि अभियुक्तद्वयको संलग्नतामा कुटपीट भएको थियो । नजमुनलाई बोक्सीको आरोपमा हत्या भएको हुन सक्ने स्थानीयको भनाई अनुसार प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो ।
मोबाईल कलरेकर्ड लगायत अनुसन्धानबाट नजमुन हत्यामा पक्राउ परेका दुवैजनाको संलग्नता रहेको प्रहरी ठम्याई छ । मृतक र आरोपी दुवैजना आफन्त समेत रहेको प्रहरीले जनायो । अभियुक्तद्वयलाई जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालतबाट उन्मुक्ति दिलाउनका लागि ठूलै शक्तिकेन्द्र लागि परेको समेत पीडितपक्षले जनाएको छ ।
नाजमुनको हत्यामा अभियुक्तद्वय संलग्न रहेको करिब–करिब पुष्टी भईसकेकाले अदालतबाट कारागार चलान हुने पक्का भईसकेको जिल्ला अदालत स्रोतले बतायो । ‘‘थुनछेकको बहस नसकिएका कारण आज जिल्ला प्रहरी कार्यालयमै थूनामा पठाईएको हो ।’’ जिल्ला अदालत स्रोतले भन्यो–‘‘हत्यामा उनीहरुकै संलग्नता रहेको करिब–करिब पक्का भईसकेको छ, त्यसैले श्रीमान (न्यायाधिश) ले पनि कारागार नै चलान गर्नुहुनेछ ।’’
No comments:
Post a Comment