साक्षरता कक्षाहरु सञ्चालन गर्न संस्थाहरु छनोट
सर्लाही समाचारदाता
मलंगवा, माघ २१ । जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्न लागेको अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता अभियान कार्यक्रम अन्तर्गत साक्षरता कक्षाका लागि ५६ वटा गैर सरकारी संस्था एवं सामुदायिक अध्ययन केन्द्रहरु छनौट भएका छन् ।
जिल्ला शिक्षा कार्यालयको स्रोत केन्द्रहरु सञ्चालन रहेको ११ वटा गाविसमा साक्षरता कक्षा सञ्चालन गर्नका लागि ती संस्थाहरु छनौट भएका हुन् । साक्षरता कक्षा सञ्चालन गर्नका लागि छनौट भएका संस्थाहरुलाई यथाशिघ्र सम्पर्क गर्न समेत शिक्षा कार्यालयले आग्रह गरेको छ । शिक्षा कार्यालयले सोमबारको निर्णय अनुसार संस्थाहरु छनोट गरेको हो ।
साक्षरता कक्षा सञ्चालनका लागि जम्मा १ सय ६ वटा संस्थाहरुले आवेदन दिएका थिए । तोकिएको मापदण्ड पुगेका संस्थाहरुलाई मात्र कक्षा सञ्चालन गर्न दिने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताए ।
साक्षरता कक्षा सञ्चालनका लागि सम्बन्धित गाविसको निरक्षरहरुको नामावली, पछिल्लो आवको लेखा परिक्षण प्रतिवेदन, सम्बन्धित निकायबाट पछिल्लोपटक नविकरण गरेको प्रमाण, कम्तीमा ३० प्रतिशत निरक्षलाई साक्षर बनाउनका लागि संस्थाले बेहोर्ने आर्थिक ग्यारेन्टी लगायत आधारमा संस्थाहरुको छनौट गरिएको र अविश्वसनीय देखिएका संस्थाहरुलाई कक्षा सञ्चालनको जिम्मेवारी नदिईएको जिल्ला शिक्षा कार्यालयले जनायो । वर्षौदेखि निष्कृय रहेका कतिपय संस्थाहरुले त साक्षरता कक्षा सञ्चालन गरि मुनाफा कमाउने उद्धेश्यका साथ कक्षा सञ्चालनका लागि आवेदन दिएकाले त्यस्ता संस्थाहरुलाई समेत छनौट नगरिएको कार्यालयले जनायो ।
माघ १० गतेबाट कक्षा सञ्चालन गर्नेगरी गत पुस ११ गते सूचना प्रकाशित गरिएको भएपनि साक्षरता कक्षाका लागि आवश्यक पर्ने किताव लगायतका सामग्री तयार नभईसकेकाले आगामी फागनु १ गतेबाट सुरु गर्ने गरि प्रकृया अगाडी बढाईएको शिक्षा कार्यालयले जनाएको छ । सर्लाहीलाई निरक्षर मुक्त बनाउने ‘साक्षर सर्लाही अभियान’ अन्तर्गत तत्काल स्रोत केन्द्रहरु सञ्चालन रहेको गडहिया डुमरिया, गोडैता, मलंगवा, बरहथवा, मदनपुर, हरिपुर, हरिपूर्वा, भक्तिपुर, सुखेपोखरी, इश्वरपुर र परवानीपुरमा साक्षरता कक्षा सञ्चालन सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनायो ।
११ गाविसका जम्मा २५ हजार ९ सय ६१ जनालाई साक्षर बनाउने गरी शिक्षा कार्यालयबाट साक्षरता अभियान सुरु हुन लागेको हो । जसमध्ये आवेदन दिएका संस्थाहरु स्वयंले आप्mनो लगानीमा ७ हजार ७ सय ९१ जनालाई साक्षर बनाउनु पर्नेछ । साक्षरता कक्षाका लागि मासिक दुईहजार पाउने गरी जम्मा १ हजार २ सय ९८ जना स्वयं सेवक परिचालन हुने र सम्बन्धित संस्थाहरुले ३ सय ९३ जना स्वयंसेवकहरुको आर्थिक व्ययभार बहन गर्नुपर्ने शिक्षा कार्यालयले जनाएको छ । शिक्षा कार्यालयका अनुसार ३ महिने उक्त साक्षरता अभियान सकिएपछि ११ वटा गाविसलाई निरक्षर मुक्त गाविस घोषणा गरिनेछ र अन्य गाविसमा पनि क्रमशः साक्षरता कक्षा सञ्चालन गरेर सर्लाहीलाई निरक्षर मुक्त जिल्ला बनाईनेछ ।
No comments:
Post a Comment