Tuesday, February 4, 2014

हरिवनमा लघुवित्त विकास बैंक

हरिवनमा लघुवित्त विकास बैंक
सर्लाही समाचारदाता
हरिवन, माघ २१ । हरिवनमा लघुवित्त विकास बैंक स्थापना हुने भएको छ । ग्रामिण स्वयं सेवक समाज हरिवनको मंगलबार सम्पन्न २०औं वार्षिकोत्सव एवं साधारणसभाका अवसरमा सो घोषणा गरिएको हो ।
दुईकरोड चालू पूँजी रहेको विकास बैंक स्थापना गर्ने तयारी सुरु गरिएको संस्थाका महासचिव दधिराम पौडेलले बताए । साधारण सभाले संस्थाको सञ्चालक समितिलाई लघुवित्त विकास बैंक स्थापना गर्नका लागि आवश्यक प्रकृया अगाडी बढाउन म्याण्डेट दिएको र सोही अनुसार प्रकृया अगाडी बढाईने पौडेलले बताए । यसअघिदेखि लघुवित्तको कारोबार गर्दै आएको संस्था तथा संस्थाका संस्थापकहरुको लगानीमा विकास बैंक खोलिने बताईएको छ ।
साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०६९÷०७० मा ५ करोड १५ लाख १४ हजार २ सय ७५ रुपैया ऋण लगानी गर्दै ११ लाख ९५ हजार १ सय ८६ रुपैया मुनाफा गरेको छ । गैर सरकारी संस्थाको रुपमा स्थापना भएपनि नेपाल राष्ट्र बैकबाट स्वीकृत लिएर लघुवित्तको समेत कारोबार गर्दै आएको छ । संस्थाले सामाजिक सेवा सहित चार हजार परिवारलाई लघु वित्तको सेवा प्रदान गर्दै आएको महासचिव पौडेलले जानकारी दिए । त्यस्तै संस्थाले गरिबी निवारण कोषसँगको सहकार्यमा विभिन्न गाविसहरुमा समेत कार्यक्रमहरु गरिरहेको छ ।
साधारण सभाको अवसरमा  संस्थाद्वारा स्थापित महिला बचत समूहहरु मध्ये ९ वटा समूह र तीनका अध्यक्षलाई पुरस्कार तथा सम्मान गरिएको थियो । उत्कृष्ट कारोबार गर्ने समूहलाई पुरस्कृत गरिएको संस्थाका महासचिव पौडेलले बताए । त्यस्तै संस्थामा कार्यरत ज्येष्ठ कर्मचारी रेणुका पौडेललाई पनि दोसल्ला ओडाएर सम्मान तथा पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मण खड्काको सभापतित्वमा भएको साधारण सभा नेपाल लघुवित्त महासंघका सचिव रुद्रप्रसाद दाहालले उद्घाटन गरेका थिए । उद्घाटन सभामा हरिवन गाविस प्रमुख केदारप्रसाद दाहाल, तत्कालिन गाविस सचिव राजकुमार थापा, गैर सरकारी संस्था महासंघका अध्यक्ष विदुर प्याकुरेल, गैर सरकारी संस्था समन्वय समितिका अध्यक्ष रजनीकान्त झा, नेपाली कांग्रेसका हरिवन अध्यक्ष डोरप्रसाद भट्टराई, एमालेका अध्यक्ष सिताराम पोखरेल, एमाओवादीका इन्द्र पाठक, नेकपा–माओवादीका भगवान मैनाली, सगुन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुराम घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सम्राट होटल हरिवनको सभाकक्षमा भएको थियो ।

No comments:

Post a Comment